गुल्मीको धुर्कोट गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर बाँदर, बँदेललगायतका जनावर मार्न पाउनुपर्ने माग गर्यो । बाँदरले उठीबास लगाउन थालेपछि विभिन्न ठाउँका बासिन्दाले बाँदर मार्न पाउनुपर्ने माग पटक–पटक गर्दै आएको बेला धुर्कोट गाउँपालिकाको पत्र स्थानीय सरकारले सङ्घीय सरकारलाई गरेको औपचारिक आग्रह हो ।
गाउँ कार्यपालिकाको निर्णयपछि २०७८ सालको असोज १२ गते लेखेको पत्रमा बाँदरलाई समातेर घरमा पाल्ने वा बाँदर लगायत खरायो, दुम्सी, बँदेललाई मार्न पाउनुपर्ने माग छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेल भन्नुहुन्छ ‘जङ्गली जनावरबाट खेती जोगाउन गरिएका उपायहरु काम नलागेपछि बाँदरको सङ्ख्या नियन्त्रण गर्न यो माग गरिएको हो ।’
धुर्कोट गाउँपालिकाले सङ्घीय सरकारलाई पत्र लेख्नु अघि २०७४ सालको फागुन २६ गते बैतडीको दशरथचन्द नगरपालिकाले केही बाँदर मारेर तर्साउने प्रयास गरेको थियो । नगरका मेयर नरेन्द्र थापासहित स्थानीयले गुलेली, मट्याङ्ग्रा, भाला र केही भरुवा बन्दुक समेत लिएर बाँदर लखेटेका थिए ।
भरुवा बन्दुक लागेर केही बाँदरको प्राण पनि गयो । तर तत्कालीन प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले मेयर थापालाई फोन गरेर बाँदर लखेट्ने कार्य बन्द गर्न निर्देशन दिएपछि बाँदर धपाउने त्यो प्रयास रोकियो ।
बन्दुकले हानेर एउटा मात्रै बाँदर मार्यो भने पनि त्यो समूह लामो समय नफर्कने बाँदर पीडितहरु बताउँछन् । त्यसैले भरुवा बन्दुक राख्न र बाँदर आएको बेला पड्काएर खेदाउन पाउनुपर्ने उनीहरुको माग छ ।
२०४५–४६ साल अघिसम्म यसैगरी बाँदरलाई जङ्गलमै रोक्दै आएको बताउँदै पीडितहरु बन्दुक पड्काएर बाँदर मार्न पाए बाली जोगिने बताउँछन् । तर सरकारले अहिलेसम्म त्यस्तो अनुमति दिएको छैन ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले घरपालुवा बाहेकका पशुपक्षीलाई संरक्षण गरेको छ । यस्ता जनावरहरूलाई हानिनोक्सानी पुर्याए दण्ड–सजायको व्यवस्था छ । यही ऐन अनुसार, बाँदरलाई मार्ने, बन्ध्याकरण गर्ने, समात्ने, पाल्ने लगायतका कार्यहरू दण्डनीय मानिन्छन् ।
तर यो ऐनमा नेपालमा पाइने कालो ९आसामीरपहरे० बाँदरलाई मात्र संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ । यसलाई मार्न प्रतिबन्ध छ । यसको सङ्ख्या पनि थोरै छ । नेपालमा अहिले दुस्ख दिएको बाँदर रातो बाँदर हो ।
मनास्लु संरक्षण क्षेत्रमा कार्यरत संरक्षण अधिकृत पशुपति अधिकारी सरकारले रातो बाँदरलाई निश्चित समयका लागि कृषिको हानिकारक वन्यजन्तु घोषणा गरी राजपत्रमा प्रकाशन गर्ने हो भने मार्न, पक्रन वा बन्ध्याकरण गर्न सकिने बताउनुहुन्छ । तर सरकारले यस्तो कुरा अहिलेसम्म सोचेका पनि छैन ।
वन्यजन्तु मार्ने अगुवा देशहरु
वन्यजन्तु मार्न हुँदैन भन्ने एकाथरीको मत रहे पनि विश्वका धेरै देशले सङ्ख्या नियन्त्रण तथा मानिसलाई गर्ने असरका आधारमा वन्यजन्तु मार्दै आएका छन् । अस्ट्रेलियाले यस वर्ष कङ्गारु मार्नको लागि ५० लाख कोटा निर्धारण गरेको छ ।
देशभर तीन करोड ६५ लाख कङ्गारु रहेको सरकारी तथ्याङ्क अनुसार यस वर्ष कुल सङ्ख्याको झण्डै १४ प्रतिशत कङ्गारु मार्ने कोटा निर्धारण गरेको हो ।
कृषि अध्येता तथा कृषिकर्मी जीवन राई अस्ट्रेलियामा कङ्गारु र नेपालमा बाँदरले मान्छेलाई दिने सास्ती उस्तै रहेकोले यहाँ बाँदर मार्न पाउनुपर्ने तर्क गर्नुहुन्छ ।
बाँदर जस्तै सास्ती दिने कङ्गारु मात्र हैन, विभिन्न देशले बाँदर पनि मारेको पाइन्छ । भारत सरकारले समस्या जटिल भएपछि सन् २०१९ मा हिमाञ्चल प्रदेशका १० जिल्लामा बाँदरलाई बालीनाशक जीव घोषणा गरी मार्न सकिने बाटो खोलेको थियो ।
हिमाञ्चल प्रदेश सरकारले एउटा बाँदर मारेबापत भारु ५ सय र एउटा बाँदर समातेर बन्ध्याकरण गरेमा भारु १ हजार दिने घोषणा गरेको थियो । सुरुमा एक वर्षका लागि गरिएको यो व्यवस्था सन् २०२० मा पुनः एक वर्षका लागि थपिएको थियो ।
तर ती दुई वर्षमा हिमाञ्चलमा कति बाँदर मारियो भन्ने विवरण सार्वजनिक भएन । तर, भारतीय सञ्चार माध्यमले त्यहाँ बाँदरको सङ्ख्या घटेको खबर छापेका थिए ।
देशका विभिन्न क्षेत्रमा बाँदरले मानिसलाई आक्रमण गर्ने, सामान खोस्ने जस्ता दुःख दिएको गुनासो बढेपछि मलेसियाको वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागको आदेशमा सन् २०१३ र २०१६ मा वर्षको झण्डै ७० हजार बाँदर मारिएको खबर २८ जनवरी २०१९ को द गार्जियनले प्रकाशन गरेको थियो ।
इन्डोनेशियामा पनि बाँदरले सास्ती दिएपछि सरकारले सन् २०१७ मा प्रहरी र सेना खटाएर देख्ने बित्तिकै रबरको गोली हान्ने आदेश दिएको थियो । बाँदरलाई तर्साउन गोली हान्न आदेश दिए पनि त्यहाँका अधिकारकर्मीहरुले त्यसको विरोध गरेका थिए ।
स्वीडेनका भेडा फर्मका धेरै भेडालाई नोक्सान पुर्यााएपछि त्यहाँको सरकारले सन् २०२२ मा ब्वाँसोको सङ्ख्या आधा घटाउने योजना पारित गरेको थियो । स्वीडेनमा ब्वाँसोको सङ्ख्या झण्डै ४८० रहेको तथ्याङ्क छ ।
दक्षिण अस्ट्रेलियामा अर्ध–जङ्गली उँटहरु घरसम्म पुग्न थालेपछि सन् २०२० मा सरकारले हेलिकप्टरको प्रयोग गरी १० हजारभन्दा बढी उँट मारेको थियो ।
बीसौँ शताब्दीमा अमेरिकाले ब्वाँसो निर्मूल गर्ने अभियान सञ्चालन गरी सन् १९५० सम्ममा धेरैजसो राज्यबाट ब्वाँसो निर्मूल गरेको थियो ।
आफ्नै पुर्खा मार्ने र
मान्छेको पुर्खा नै बाँदर रहेको र मान्छेको विकास बाँदरबाट भएको मान्यतामा वैज्ञानिकहरु एकमत भएकाले संसारभर बाँदरलाई मान्छेका पुर्खा मानिन्छ । त्यसैले बाँदर मार्ने विषयलाई धेरैले पुर्खा हत्याको रुपमा लिने गरेका छन् ।
त्यसमाथि हिन्दु धर्मले बाँदरलाई हनुमानको वंश मान्छ । त्यसैले, बाँदर मार्ने विषय दक्षिण एसियामै धार्मिक कारणले विवादित हुने जोखिम छ । तर, मार्नुपर्छ भन्नेहरुका तर्कलाई हिन्दु धार्मिक कथा र ग्रन्थहरुले प्रशस्तै ठाउँ दिएका छन् ।
महाभारत युद्धमा जानु अगाडि अर्जुनले आफ्नै वंशका दाजुभाइ कौरव र आफ्ना गुरु द्रोणाचार्यलाई मार्नु उचित नहुने तर्क गरेका थिए । जवाफमा कृष्णले मानव हितको पक्षमा हुने भएकोले गुरु र आफ्नै वंशका शत्रुलाई वाण चलाउन सल्लाह दिँदाको उपदेश अहिले पनि गीताको रुपमा प्रख्यात छ ।
मानव हितका लागि एकै वंशीय दाजुभाइ र गुरु मार्न हुने तर मानव हित विरुद्ध काम गर्ने बाँदरलाई मार्न किन नहुने रु भन्ने प्रश्न पीडितले लामो समयदेखि गर्दै आएका छन् ।
बाँदरको बन्ध्याकरण असम्भव छैन
बाँदर आतङ्क नियन्त्रणको कुरा गर्दा चर्चामा आउने अर्को कुरा हो बाँदरको बन्ध्याकरण । गल्लीमा भौतारिने कुकुरको सङ्ख्या नियन्त्रण गर्न बन्ध्याकरण गर्ने चलन नेपालमा वर्षौँदेखि चलिरहेको छ ।
यही उपाय बाँदरमा लागू हुनुपर्छ भन्नेहरुको सङ्ख्या बढ्दै गएको छ । केही मानिस भने कुकुरको बन्ध्याकरण त प्रभावकारी नभएको बेला बाँदरको गर्भनिरोध असम्भव ठान्दछन् । नेपालका लागि यो नौलो प्रयोग हुने भए पनि यस्ता अभ्यास भारतमा ५ वर्ष अघि नै सुरु भएको थियो ।
भारतको दिल्ली सरकारले २०१८ मा भारु ५ करोड बजेटसहित बाँदर गणना, गर्भनिरोध र अनुगमनको योजना सार्वजनिक गरेको थियो । तर त्यसको प्रभावकारिता अझै सार्वजनिक भएको छैन ।
हिमाञ्चल प्रदेशमा लागू गरिएको बाँदरको गर्भनिरोधको कार्यक्रमलाई भारतीय सञ्चारमाध्यमले प्रभावकारी र भरपर्दो भनेर समाचार छापेका थिए । श्रीलङ्कामा पनि बाँदरको बन्ध्याकरण अभियान चलाइएको थियो । अहिले त्यहाँ बाँदरको नयाँ प्राकृतिक स्थलको विकास गर्ने योजना अघि सारियो ।
बाँदरको सङ्ख्या बढेपछि थाइल्याण्डको मङ्की टेम्पल क्षेत्रका बाँदरलाई पनि गर्भनिरोध गरेको समाचार सीएनएनले प्रसारण गरेको थियो ।मलेसियामा अधिकारकर्मीहरुले बाँदर मार्नुको सट्टा गर्भनिरोध गर्न सुझाव दिए पनि त्यो खर्चिलो र कम प्रभावकारी भएको भनि सरकारले बाँदर मार्ने अभियान जारी राखेको छ।
मौरिससमा बाँदर बाली नाशकको रूपमा परिचित छ । मौरिससले भने अमेरिका र युरोपका देशमा बाँदर निकासी गर्दै आएको छ ।
तर, नेपालबाट रातो बाँदर निकासी गर्न पनि साइटिस महासन्धिको अनुसूची–२ बाधक रहँदै आएको छ । रातो बाँदर यो सूचीमा छ र सूचीमा रहेका कुनै पनि वन्यजन्तु ओसारपसार गर्न पाइँदैन ।
तर,बाँदर र बँदेल जस्ता आक्रामक ‘पेस्ट एनिमल’ नियन्त्रण गर्न अपनाइएका अन्तर्राष्ट्रिय अभ्यासहरू हेर्दा यी जन्तुका सङ्ख्या घटाउनेबाहेक अरु उपाय प्रभावकारी देखिएका छैनन् ।
त्यसैले, अब नेपालले पनि कुनै न कुनै उपाय अवलम्बन गर्नैपर्छ । के गर्ने त भन्ने प्रश्नको जवाफमा संरक्षण अधिकृत पशुपति अधिकारी भन्नुहुन्छ ‘नेपालको मध्यपहाडी क्षेत्रमा बढेको मानव बाँदर द्वन्द्व कम गर्ने सबैभन्दा व्यावहारिक उपाय रातो बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गर्नु नै हो ।’
संसद् र सरकारले धेरै दुस्ख नगरि रातो बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गरि दिने हो भने बाँकी काम नागरिक र पालिकाले वर्ष दिनभित्रै तमाम गरी दिन्छन् । उज्यालो अनलाइनबाट साभार