चन्द्रकोट गाउँपालिकाका बिरामी वा घाइतेले रुपन्देहिमा अब निशुल्क रगत पाउने

भुवन भुसाल, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाका बासिन्दाले अब रुपन्देहिमा निशुल्क रगत पाउने भएका छन् । चन्द्रकोट गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवा केन्द्र बुटवलका बिचमा आज यस्तो संझौता भएको हो ।

आज शनिवार चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केशी र रक्त संचार सेवा केन्द्र बुटवलका उपसभापती मित्रलाल न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे संगै चन्द्रकोटका नागरिकले यो सेवा पाउने भएका वडा नं २ का वडा अध्यक्ष कमल केशीले जानकारी दिनुभयो । नियमित डायलासिस गराउनु पर्ने, दुर्घटनामा परि उपचारमा रगत आवस्यक पर्ने घाईते, र नियमित रगत चडाउनुपर्ने बिरामीले रगत खरिद गर्नुपर्दा झेल्नुपरेको समस्यालाई मध्यनजर गरि यो सम्झौता गरिएको गाउँपालिका अध्यक्ष केशीले बताउनु भयो ।

यो सेवा लिन चन्द्रकोट गाउँपालिकाका नागरिक बिरामी वा घाईतेको स्थायी ठेगाना चन्द्रकोट रहेको देखिने सरकारी कागज सहित रेडक्रस सोसाईटी जानुपर्ने छ । यो सम्झौता अनुसार अब चन्द्रकोट गाउँपालिकाले रक्तदानका कार्यक्रम मार्फत केन्द्रलाई समय समयमा रगत उपलब्ध गराउनु पर्ने छ । सम्झौता कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिष्णु भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश शर्मा, वडा नं १ को वडा अध्यक्ष घनस्याम खरेल लगायतको समेत सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?