गुल्मीमा आगोको आतंक, हाल सम्म कती भयो क्षती ?

तस्बिर सौजन्य : कृष्ण खनाल

गुल्मी । गुल्मीका विभिन्न स्थानमा लागेको डढेलोबाट ठूलो क्षति भएको छ । शुक्रबार र शनिबार इस्मा गाउँपालिकाको १ र ४ वडामा लागेको आगोले २७ घरगोठ र गुल्मी दरबार गाउँपालिकामा एउटा घर जलेको छ । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेर भौतिक संरचना र पशुचौपायाको क्षति गरेको छ । इस्मा– १ की वसुन्धार कुँवरको घर बंगालो पूर्ण रूपमा जलेर नष्ट हुँदा घरमा भएको सबै सम्पत्ति र गोठमा रहेका आठ बोका, पाँच बाख्रा र दुई भैँसी जलेर मरेका छन् । सोही ठाउँका चन्द्रबहादुर कुँवरको घर, कुटानी पिसानी गर्ने मिल, किराना पसल र बंगालो जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकरप्रसाद पोख्रेलले जानकारी दिनुभयो  । यस्तै, रमेश थापाको घरगोठ, होमबहादुर मल्लको बंगालो, लीलाबहादुर थापाको घरकटेरो, टीकाबहादुर रायामाझीको घरगोठ, गोलबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र कुटानी–पिसानी मिल, इन्द्रबहादुर थापाको किराना पसल र तीनवटा गोठ, रामबहादुर थापाको घरगोठ जलेको छ ।

 

स्थानीय सिदुंखाको रानी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि हस्तिचौरका १५ जनाको घरगोठ र चार दर्जन पशुचौपाय जलेको उहाले  । इस्मा गाउँपालिका– ४ को हुल र कोटकोटेरी गरेर शनिबार दुई स्थानमा डढेलो लागेको छ । हुलमा लागेको डढेलो बस्ती पसेपछि टोकली बस्नेतको बंगालो, सूर्य र गुन्जबहादुर बस्नेतको गोठ जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका– ४ कै कोटकोटेरीमा जंगलको डढेलो बस्ती पसेपछि स्थानीय ऋषिराम खनाल, बलबहादुर दर्जी, सरिता अधिकारी, ज्ञानु अधिकारी, विमला अधिकारी, सुरेन्द्रलाल विक, रामबहादुर अधिकारी, गोरखनाथ विकको घर र कगेश्वर विकको बंगालो जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गाउँमा पाइपहरू जलेपछि खानेपानीको प्यासमा डढेलो पीडित तड्पिएका छन् । नगद, खाद्यान्न, लत्ताकपडासहित जलेकाले पीडित परिवारको बिचल्ली भएको छ । हावासहित तीव्र रूपमा आगो बस्ती पसेकाले तत्काल उद्धारको काम भइरहेको इस्मा गाउँपालिका– ४ का वडाध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाले डढेलो नियन्त्रणको प्रयास भए पनि तत्काल सम्भावना कम भएको बताउनुभयो ।

शुक्रबार र शनिबार इस्मा, रेसुंगा, गुल्मीदरबार र रुरुक्षेत्रलगायतका स्थानीय तहका विभिन्न स्थानमा डढेलो बस्तीमा फैलिएको छ । मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुई दिनदेखि डढेलो लागिरहेको छ । जंगलको डढेलो बस्ती पस्दा मदाने गाउँपालिकाका केही घरमा पनि क्षति पुगेको छ । इस्मा गाउँपालिका– १ मा लागेको डढेलोका कारण ट्र्याक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका– ७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते हुनुभएको छ  । घाईतेको हातखुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ । घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । डढेलोका कारण लु४त ६५३५ नम्बरको ट्रयाक्टर जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलनको कार्य भइरहेकाले आइतबार सम्म यकिन तथ्यांक आउने प्रहरीले जनाएको छ ।

शुक्रबार नजिकैको वनबाट लागेको डढेलो पसेपछि गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ । सबस्टेशन पूर्णरूपमा क्षति हुनबाट रेसुंगा नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट करिब दुई करोडबराबरको क्षति भएको छ । नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार महत्वपूर्ण कन्डक्टर, केवललगायत सामग्री जलेकाले प्रारम्भिक रूपमा करिब दुई करोडको क्षति भएको अनुमान गरिएको छ । रेसुंगा नगरपालिका– ७ को पाताल सामुदायिक वनमा डढेलो लागेपछि उनायचौरको १३२ केभिए राष्ट्रिय विद्युत् प्रसारण लाइनको सबस्टेसन आगलागीको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिनुभयो । उनायचौरमा करिब ४१ करोडको लागतमा सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा उद्धार र राहतको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । अहिले तत्काल नजलेका घरमा पीडितको खाने बस्ने सहितको व्यवस्थापन गरिएकाले आइतबार थप राहतको काम गरिने उहाको भनाइ छ । उहाले धेरै स्थानमा डढेलो भएकाले मानवीय क्षति हुन नदिने गरेर सुरक्षाकर्मी र स्थानीयको सक्रियता बढाएको बताउनुभयो । डढेलोकै कारण करिब तीन दर्जन परिवार खुला आकाशमा बस्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?