गुल्मीदरबारमा एकैदिन दुई खानेपानी आयोजना उदघाटन, १ सय ४० परिवारलाई घरघर धारा

 

 

भुवन भुसाल, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा एकैदिन २ खानेपानी आयोजना उदघाटन गरिएको छ । गाउँपालिकाको वडा नं २ को जुभुङ्गमा सुर्योदय खानेपानी तथा सरसफाई योजना र काभ्रेपोखरीमा ठुलाखोला काभ्रेपोखरी खानेपानी तथा सरसफाई आयोजना उदघाटन गरिएको हो ।

गुल्मीदरबार गाउँपालिका, ट्रीट्स परियोजना र स्थानिय समुदायको संयुक्त लगानीमा निर्मित खानेपानी योजनाको आज गाउँपालिका अध्यक्ष सरोज कुमार थापा र बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले संयुक्त रुपमा उदघाटन गर्नुभएको हो । खानेपानी आयोजना निर्माण र संचालनमा सामाजिक परिचालनको काम नवप्रभात युवा संघले गरेको हो ।

 

सुर्योदय खानेपानी तथा सरसफाई योजना जुभुङ्ग कुल ८० लाख १६ हजार ४ सय ३१ रुपैयाँमा सम्पन्न भएकोमा गुल्मीदरबार गाउँपालिकाले ५१ लाख १७ हजार ४ सय ६ , ट्रीट्स परियोजनाले २३ लाख ४५ हजार २ सय ३५, समुदायको २ लाख र जनश्रमदान ३ लाख ५३ हजार ७ सय ९० रुपैयाँ लगानी रहेको छ ।

त्यस्तै ठुलाखोला काब्रेपोखरी खानेपानी तथा सरसफाई योजना १ करोड ५२ लाख ८० हजार २ सय ९८ रुपैयाँमा सम्पन्न भएको हो । जसमा गाउँपालिकाको ९७ लाख ८३ हजार ६ सय ७३ रुपैयाँ, ट्रीट्स परियोजनाको ४४ लाख ८७ हजार ३ सय ७५ रुपैयाँ, समुदायको नगद योगदान ५ लाख ९ हजार र समुदायको श्रमदान ५ लाख २ सय ५० बराबर लगानी रहेको छ । गाउँ भन्दा तल मुहानको पानी सोलार उर्जाको प्रयोग मार्फत गाउँको ट्यान्किमा खन्याई पानी बितरण सुरु गरिएको छ । लामो समय पानी बोक्न समय खर्चिनुपर्ने बाध्यतामा रहेका यहाँको समुदाय घरघर पानी आएपछी खुशी भएका छन ।

गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले वडा नं २ लाई यो वर्ष भित्र र सिंगो पालिका भित्र यो वर्ष ८० प्रतिशतमा र आगामी वर्ष १०० प्रतिशत खानेपानी समस्या समाधान गर्दै एक घर एक धारा गराएर छोड्ने बताउनुभयो । वहाँले यो काम सम्पन्न सहयोग गर्ने बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, रिन्युएवल वर्ल्ड, युनिका फाउन्डेसन,  ट्रीट्स परियोजनालाई धन्यवाद दिनुभयो । वहाँले लागत साझेदारीमा काम गर्न गाउँपालिका तयार रहेको भन्दै अन्य कार्यक्रम समेत आफ्नो पालिकामा ल्याउन सबैमा आग्रह गर्नुभयो ।

नवराज ढकालले कुल लागतको ६४ प्रतिशत बढी लगानी गाउँपालिकाले गरेको भन्दै पालिकाको कामको प्रशंसा गर्नुभयो । निर्देशक ढकालले आयोजनाको दिगोपना, थप उर्जा मार्फत आयआर्जनका माध्यम संग जोड्न स्थानीयले गरेको आग्रहलाई आफुले सकारात्मक रुपमा लिएको बताउनुभयो । वहाँले आयोजना निरन्तरताको लागी यसका शौर्य पाता हरदम सफा र सबै संरचना सुरक्षित राख्न आग्रह गर्नुभयो ।

रिन्युएवल वर्ल्डका राष्ट्रिय निर्देशक ठाकुर थापाले परियोजना सम्पन्न गराउन खट्ने सबैलाई धन्यवाद दिंदै स्थानियलाई बधाई व्यक्त गर्नुभयो । थापाले आफुहरुले काम गरेका सबै जिल्ला र पालिकाहरु मध्य पालिकाले गरेको आर्थिक योगदानमा गुल्मीदरबार गाउँपालिका पहिलो भएको बताउनुभयो ।

नवप्रभात युवा संघका जिल्ला संयोजक धातानन्द भुसालले थुप्रै चुनौतीका बीच स्थानिय सरकार र दात्री निकायको सहयोगले यो परियोजना सफल भएको बताउनुभयो । वहाँले पानीलाई अब आम्दानी संग जोड्नुपर्ने बताउँदै स्थानिय सरकारले यो आयोजनाको अभिभाकत्वलाई निरन्तरता दिंदै स्थानियका आवस्यकता अनुसार आम्दानीका कार्यक्रम संचालन गरोस भन्ने कामना गर्नुभयो ।

युनिका फाउन्डेसनका नेपाल प्रतिनिधि रमेश पौडेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, वडा नं २ का अध्यक्ष बिष्णु गौतम, जनप्रतिनिधि, सामाजिक व्यक्तिहरु, उपभोक्ता समिती, उपभोक्ता लगायतको सहभागिता २ वटै कार्यक्रममा रहेको रहेको थियो । आयोजनाबाट बिधालय, स्वास्थ्य चौकी, आमा समूह, समेत गरेर १४० घरधुरी लाभान्वित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?