बन्दले गुल्मी क्षेत्रको यातायात पनि अबरुद्ध

 

एमसीसी सम्झौता अनुमोदन विरुद्ध आव्हान भएको नेपाल बन्दले गुल्मीको सार्वजनिक यातायात पनि ठप्प प्रायः भएको छ । तमघासबाट छुट्ने छोटो तथा लामो दुरीका सवारीसाधन सोमबार चलन सकेका छैनन् । एमसीसी सम्झौता नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रता विरुद्ध भएको भन्दै आठ दलले आज बन्द आव्हान गरेका हुन् ।

 

विप्लव नेतृत्वको नेकपा, मोहन वैधले नेतृत्व गरेको नेकपा माओवादी क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा लगायत आठ दलले उक्त सम्झौता खारेज नभएसम्म संघर्ष जारी राख्ने बताएका छन्। बन्दले बजार, शिक्षण संस्था र अन्य आर्थिक गतिविधि समेत प्रभावित बनेका छन् ।

सार्वजनिक यातायात संचालन हुन नसक्दा यात्रुलाई भने सास्ती भएको छ तर, निजीसवारी साधन भने फाटफुट चलेका देखिन्छन् ।सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी हिलोमात्रै संसदबाट अनुमोदन गरेको थियो । उक्त सम्झौता सैन्य रणनिती र दुरगामी हस्तक्षेप राख्ने खालको भन्दै त्यसको विरोधमा लगातारजसो केही दल र मोर्चाको अगुवाइमा प्रर्दशन हुँदै आएको छ ।

जिल्लाको सुरक्षा अवस्था मजबुत डी.एस.पी. खरेल

बन्द प्रदर्शन लगायतका गतिविधि बढ्न थालेपछि गुल्मी जिल्लाभरको सुरक्षा अवस्थामा कडाई गरिएको छ। संभावित प्रदर्शन र सुरक्षा चुनौतीलाई ध्यान दिँदै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो । “सुरक्षा व्यवस्था मजबुत छ, चलेका गाडीलाई हाइवे स्टेशनमा केही छिन होल्ड गराएर भएपनि सुरक्षित रुपमा पास गराउने गरिएको छ” । जिल्ला प्रहरी कार्यालय गुल्मीका डी.एस.पी. माधव प्रसाद खरेलले भने । “संचालनमा आएका सवारी साधन र जीउधनको सुरक्षा गर्न हामी प्रतिबद्ध छौं त्यही अनुसार नै गरिरहेका छौं।” जिल्लाभरको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको खरालको भनाई छ ।

 

जोखिम उठाउन तयार हुँदैनन् व्यवसायी

 

हिजो राती अबेर आज सोमबार बन्द हुने सूचना पाएपछि यातायात व्यवसायीले आजका लागि गाडी नचलाउने निर्णय गरे । सोही अनुसार टिकट बुकिङ र रिजर्भ समेत रद्ध गरे । पश्चिम नेपाल बस व्यवसायी कम्पनी प्रा.लिमा आबद्ध व्यवसायी दिनेश कार्कीले भने ” समितिले नचलाउने निर्णय गरेपछि गाडी चलाउन सकिँदैन कतै केही भए कसले जिम्मा लिने भन्ने पनि हुन्छ ।” बन्दले सिमीत समुहलाई क्षणिक लाभ भएजस्तो देखिएपनि त्यो भ्रम मात्र भएकोले बन्द बाहेकका संघर्ष र विरोधका कार्यक्रम गर्ने संस्कार बसाउनुपर्ने उनको बुझाई छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?