नेता थापाको नवौ दिनमा कांग्रेसले गर्‍यो श्रद्धाञ्जली सभा

रमेश विश्वकर्मा,  चैत ५ गुल्मी

नेपाली कांग्रेस गुल्मीको आयोजना जिल्लाको गुल्मीदरबार गाउँपालिका-६, चारपालामा श्रद्धाञ्जली सभा गरिएको छ ।

नेपाली कांग्रेस गुल्मीका पूर्व उपसभापति, नेपाल विद्यार्थी संघका संस्थापक सदस्य, वी.पी. विचार समाजका वर्तमान अध्यक्ष तथा नेपाल शिक्षक संघ गुल्मीका संस्थापक जिल्ला अध्यक्ष लक्ष्मणसिंह थापाको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा गरिएको हो । थापाको गत फागुन २६ गते ७२ वर्षको उमेरमा मृत्यु भएको थियो । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका केन्द्रीय तिन नेताहरुको सहभागीता रहेको थियो ।

श्रद्धाञ्जली सभा कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य धनराज गुरुङ र गुरु घिमिरेको विशेष आतिथ्यतामा भएको हो । सभामा बोल्ने वक्ताहरुले थापाको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको बताएका छन् । दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सम्पूर्ण थापा परिवार र स्वर्गीय थापाले पुर्याउनुभएको भूमिका अतुलनीय भएको स्मरण गरेका थिए । सरल र सादा जीवनशैली अपनाउनुभएका थापा देश, जनता र प्रजातन्त्रका लागि एक ईमान्दार र निष्ठावान सिपाही भएको समेत उल्लेख गरे । नेपाली काँग्रेस गुल्मी र सुभेच्छुक संस्था नेपाल शिक्षक संघको संगठन विस्तार अभियानमा थापाले निभाउनुभएको भूमिका सम्मानजनक रहेको काँग्रेस गुल्मीले जनाएको छ । राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना र पञ्चायती व्यवस्थाको समाप्तीपछि बहुदलीय व्यवस्थाको पुर्नस्थापनामा शाहदत प्राप्त गर्ने महान शहिद परिवारको सदस्य हुनुको श्रेय उक्त परिवारलाई जाने वक्ताहरुको भनाई छ । कठोर संघर्षमय जीवन अंगाल्नुभएका थापाको योगदानको नेपाली कांग्रेस गुल्मी सदा संस्मरण गरिरहने जनाईएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको सभापतित्व रहेको सभामा पुर्व जिल्ला सभापति चन्द्र केसी, जिल्ला उपसभापति बिष्णुप्रसाद बलाल, जिल्ला सचिव बिष्णुकुमारि सापकाेटा र जिल्ला कार्य समितिका सदस्यहरु उपस्थिति रहेको थियो । त्यस्तै क्षेत्रिय सभापतिहरु, नगर/गाउँ सभापति, निर्वाचित जनप्रतिनिधिहररु, नेपाल शिक्षक संघका सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्था, पत्रकारहरु, स्थानिय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो । श्रद्धाञ्जली सभाको संचालन सचिव खिलध्वज पन्थीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?