चैत्र १९ , काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले लेखेको एउटा पोस्ट डिलिट गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भावविह्वल भई रोएको फोटोसहित ‘लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै, तै पनि पुनरावलोकनको रोइलो सकिएको छ’ लेखेका थिए । थापाले सर्वोच्च अदालतले नेकपा खारेजीको फैसला पुनरावलोकनको माग राखेर प्रचण्डको निवेदनमाथि यसअघि कै फैसलालाई सदर गर्दै पुनरावलोकलन नहुने आदेश दिएपछि व्यंग्य गरेका थिए।
तर उक्त पोस्टप्रति निकै आलोचना हुन थालेपछि थापाले असंवेदनशील पोस्ट हटाएका हुन्।
थापाले एकातिर अदालतको आदेश र अर्कातिर दाहालको भावविह्वल भएको तस्बिर राखेका थिए।
छोरा प्रकाशको निधन हुँदा रोएको तस्बिरसँग थापाले सर्वोच्चको फैसला जोडेर फोटो बनाएका थिए। तर यस पोस्टप्रति धेरैले आलोचना र टिप्पणी गरेका थिए। थापाले हाल उक्त पोष्ट हटाएर फैसला भन्दै सर्वोच्च अदालतको आदेशको फोटो राखेका छन्।