भारतले स्वागतमै हेप्यो , प्रधानमन्त्री दाहालको स्वागतमा भारतीय राज्यमन्त्री लेखी

भारतले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतमा राज्यमन्त्री पठाएको छ । भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको तस्बिर सार्वजनिक भएका छन ।

 

सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चारदिने भारत भ्रमणको तय गरेका हुन् ।

गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १:२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत पुगेका हुन् ।

 

यसअघि २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्ट्ले स्वागत गरेका थिए ।

 

बुधबार प्रधानमन्त्री दाहाल विमानस्थलमा स्वागत कार्यक्रमपछि होटलतर्फ प्रस्थान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?