छत्रकोटका एकल महिलाहरुलाई गड्यौला खेती तालिम

भुवन भुसाल, गुल्मी

गुल्मीको छत्रकोट गाउँपालिकाका एकल महिलाहरुको आय आर्जनको निम्ति गड्यौला खेती तालिम सम्पन्न गरिएको छ । नव प्रभात युवा संघले एकल महिलाहरुको लागि आय-आर्जन मुलक कार्यक्रम अन्तर्गत गड्यौला खेती तालिम सम्पन्न गरेको नव प्रभात युवा संघका कार्यक्रम संयोजक धातानन्द भुसालले बताउनुभयो ।

शनिबार देखि छत्रकोट गाउँपालिकाको वडा न ३ लुम्छामा संचालित तालिम ५ दिन सम्म चलेको हो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, छत्रकोट गाउँपालिकाको सहजीकरण र नवप्रभात युवा संघको आयोजनामा तालिम संचालन गरेको हो ।

समापन कार्यक्रममा बोल्दै नवप्रभात युवा संघका कार्यक्रम संयोजक धातानन्द भुसालले तालिम लिएर यसलाई व्यवसायिक बनाउन सके गड्यौला खेती आम्दानिको निम्ति राम्रो व्यवसाय रहेको उल्लेख गर्नुभयो । वहाँले एकल महिलाले धेरै दुख नगरी स्थानिय श्रोत साधनको सदुपयोग गरि आम्दानी गर्न सकिने भएकाले गड्यौला खेती उपयुक्त व्यवसाय रहेको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै छत्रकोट गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष तेजकान्त अर्यालले सामान्य लगानीमा मनग्य आम्दानी गर्न सकिने भएकाले गड्यौला खेतीले यहाँका एकल महिलाहरुलाई सशक्तिकरण युक्त महिला बनाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो । अर्यालले सिकेको सिपलाई व्यवहारमा उतार्न सल्लाह समेत दिदै वहाँले राज्यको लगानी बालुवामा पानी नबनाउन आग्रह गर्नुभयो । वडा न ३ कै वडा सचिव खिमलाल पन्थले अहिले भित्रीएका रोगको कारण रासायनिक मल भएको बताउँदै आफ्नो खेतीमा कम्सेकम आफै मल उत्पादन गर्न सुझाव दिनुभयो । वहाँले तालिम तालिममा मात्रै सिमित नगर्न सुझाव दिँदै काम गरेर उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

तालिमलाई सहजीकरण गर्नुभएका अगुवा किसान बिष्णु प्रसाद पन्तले गड्यौला र गड्यौला मलको माग बिस्तारै बढ्दै गएकाले यो खेती तर्फ पछिल्लो समय आकर्षण बढेको बताउंँदै व्यवसायीक रुपमा काम गर्न सुझाव दिनुभयो । तालिमकै सहजकर्ता जंग बहादुर पचभैयाले थोरै उत्पादनले बजार नपाउने बताउँदै व्यवसयिक बनाउन आग्रह गर्नुभयो । वहाँले १६ बर्ष देखि आफुले व्यवसायिक गड्यौला खेती गरेको अनुभव सुनाउँदै सफल किसान बन्न गड्यौला खेती महत्वपूर्ण हुने अनुभव सुनाउनुभयो ।

तालिममा छत्रकोट गाउँपालिकाका ६ वटै वडाबाट ४/४ जना महिलाहरुको सहभागीता रहेको थियो । गड्यौला मार्फत मल उत्पादन गर्न एसिनाफेटिडा जातको गड्यौला खेती गरिन्छ । तालिम सत्यवती गाउँपालिका गुल्मीका कृषि अधिकृत उपकार भण्डारी, छ्त्रकोट कृषि शाखा अधिकृत पबित्रा घिमिरे, व्यवसायिक किसान जंग बहादुर पचभैया, अगुवा किसान बिष्णु प्रसाद पन्तले संचालन गर्नुभएको थियो ।

समापन कार्यक्रममा सहभागीहरुलाई गड्यौला खेती गर्न आवस्यक सामाग्री र बीउ गड्यौला समेत प्रदान गरिएको छ । यहाँ गड्यौलाको मल प्रती केजि ५० र गड्यौला प्रती केजि २ हजार ५ सय सम्ममा बिक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?