गुर्जो हानिकारक छैन : भारतीय स्वास्थ्य मन्त्रालय

 

नयाँ दिल्ली : भारतको आयुष मन्त्रालयले बुधबार गुर्जो (टिनोस्पोरा कार्डिफोलिया) पूर्ण सुरक्षित भएको र कुनै हानिकारक नभएको बताएको छ।

आयुष (आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा, यूनानी, सिद्धा र होमियोप्याथी) मन्त्रालयले उपलब्ध तथ्यअनुसार गुर्जो (गुडूची) पूर्ण रूपमा सुरक्षित भएको स्पष्ट पारेको छ। अनुसन्धानबाट यसको प्रयोगबाट कुनै हानि नभएको मन्त्रालयले बताएको छ।

मन्त्रालयले सामाजिक सञ्जाल र केही वैज्ञानिक पत्रिकाहरूमा प्रकाशित लेख र पोस्टहरूमा गुर्जोको प्रयोगबारे व्यक्त चिन्ताले ध्यानाकर्षण भएको बताएको छ।

 

मन्त्रालयले उल्लेख गरेको छ, ‘केही दिनयता सञ्चारमाध्यमले गुर्जोको प्रयोगका कारण कलेजोमा क्षति पुगेको हल्ला गर्दै आएका छन्। गुर्जो सुरक्षित छ र उपलब्ध तथ्यांकअनुसार यसले कुनै विषाक्त प्रभाव उत्पादन गर्दैन।’

 

मन्त्रालयका प्रवक्ताका अनुसार गुर्जोलाई आयुर्वेदमा पुनर्जीवनका लागि उत्कृष्ट जडिबुटी भनिएको छ। यद्यपि औषधिको प्रभाव कसरी प्रयोग गरिएको भन्नेमा भर पर्ने पनि मन्त्रालयले जनाएको छ।

झिँगामा गरिएको अनुसन्धानको उल्लेख गरिएको छ। गुर्जोको चूर्ण (धूलो)को निश्चित मात्राले फलफूलमा लाग्ने झिँगा (ड्रोसोफिला मेलानोगास्टर) को आयु बढाएको र बढी मात्रा प्रयोग गरिएका झिँगाको भने आयु घटेको अनुसन्धानबाट पत्ता लागेको बताइएको छ।

 

यसबाट कुनै पनि औषधिको फाइदा लिनको लागि निश्चित मात्रा कायम राख्नु धेरै महत्त्वपूर्ण हुने मन्त्रालयको भनाइ छ। आयुष मन्त्रालयका प्रवक्ताका अनुसार औषधिबाट लाभ लिन दक्ष चिकित्सकको सल्लाहमा तोकिएको मात्रा लिनुपर्ने अनुसन्धानमा निष्कर्ष निकालिएको छ।

मन्त्रालयका अनुसार गुर्जोलाई एन्टीअक्सिडेन्ट, एन्टी-हाइपरग्लाइसेमिक, एन्टी-हाइपरलिपिडेमिक, हेपाटोप्रोटेक्टिभ, कार्डियोभास्कुलर प्रोटेक्टिभ, न्यूरोप्रोटेक्टिभ, ओस्टियोप्रोटेक्टिभ, रेडियोप्रोटेक्टिभ, एन्टी एन्जाइटी, एडाप्टोजेनिक, एनाल्जेसिक, एन्टी-इन्फ्लामेटिक, एन्टी-इन्फ्लामेटिकको रूपमा प्रयोग गरिन्छ।

यसलाई झाडापखाला, अल्सर र क्यान्सरलाई हराउन प्रयोग गर्न सकिन्छ। साथै पाचन सम्बन्धी समस्या र रोगप्रतिरोधी क्षमता बढाउन पनि यसको प्रयोग गरिन्छ। यति मात्र होइन, कोभिड–१९ जस्ता विश्वव्यापी महामारीलाई परास्त गर्न पनि यसको प्रयोग भइरहेको छ।

मन्त्रालयले टिनोस्पोरा प्रजातिकै गुर्जो जस्तै देखिने टिनोस्पोरा क्रिस्पा जस्ता बिरुवा हानिकारक हुन सक्ने बताएको छ।

 

 

आयुष मन्त्रालयका प्रवक्ताका अनुसार विभिन्न मेटाबोलिक (चयापचय) डिसअर्डरको उपचारमा गुर्जोलाई स्वास्थ्य लाभ र प्रतिरोधात्मक क्षमतावर्धक रूपमा यसको सम्भावनालाई विशेष ध्यान दिइएको छ।

गुर्जोलाई मेटाबोलिक, अन्तःस्रावी (इन्डोक्राइनल) र अन्य धेरै रोगको उपचार गर्न चिकित्सा विज्ञानको प्रमुख घटकको रूपमा प्रयोग गरिन्छ।

यो परम्परागत औषधि प्रणालीमा उपचारात्मक प्रयोग हुँदै आएको निकै लोकप्रिय जडिबुटी हो।

कोभिड १९ महामारीको व्यवस्थापनमा व्यापक रूपमा प्रयोग गरिएको छ। समग्र स्वास्थ्य लाभलाई ध्यानमा राख्दै, यो जडिबुटी विषाक्त नभएको मन्त्रालयले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?