युवा र बाल्यवस्थामा बढीराखेको मानसिक स्वास्थ्य समस्या

हाम्रो नेपाली समाजमा मानसिक अस्वस्थता भन्ने बित्तिकै पागलपन, नराम्रो, पचाउन नसक्ने गरेर बुझ्ने गरिन्छ । तर यो पनि अरु रोग जस्तै सामान्य स्वास्थ्य समस्या हो । यो रोगमा आफू बिरामी छु भनेर बिरामीले पत्याउन गाह्रो मानिराखेको हुन्छ । झन् बालबालिका तथा युवाहरुमा पनि यो समस्या हुन्छ भन्ने कुरा धेरैले सोचेका पनि हुँदैनन् । तर पछिलो समयमा मानसिक स्वास्थ्यमा मान्छेहरु खुलेर कुरा गर्न थालेका छन् ।

युवा अवस्थामा तथा बाल्यवस्थामा मानसिक स्वास्थ सम्बन्धी देखिने समस्याको कारण घरायसी झगडा, लागू पदार्थको सेवन, समाजमा हुने झगडा, बुबा आमाबाट टाढा बस्नु, आफन्तको माया नपाउनु, पढाइको चाप, शिक्षामा असफलता, युवा युवतिहरु प्रेममा बिछोड, भविष्यप्रतिको चिन्ता, मनमा परेका सम्स्याहरु खुलेर भन्न नसक्नु, घर परिवारबाट आउने विभिन्न किसिमका दबाब आदि रहेका हुन्छन् । यो उमेरमा प्रायः चिन्ताजन्य रोग आत्तिने, मनमा धेरै कुरा खेलाउने, नैराश्यपन आउने, व्यवहारमा समस्या, कम्पन आउने आत्महत्याको सोच आउने हुन्छ ।

नेपालमा युवावस्थामा हुने मृत्युको मुख्य कारण अहिले आत्महत्या बनेको छ । प्रायः लामो समयदेखि मानसिक समस्यामा रहेको व्यक्तिले आत्महत्या गरेको पाइएको छ । यसका लागि समयमै परिवार र समाजमा खुलेर कुरा गर्ने किसिमको उपर्युक्त वातावरण बनाउन आवश्यक छ । यस्तो अवस्थामा माया सद्भाव, साथ, प्रेरणाको आवश्यकता पर्दछ । यस्ता समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य सस्थामा गएर परामर्श लिने वातावरणमा बनाइनु पर्छ ।

कुनैपनि मानसिक बिरामी हुनुमा बिरामीको कमजोरी हैन अरु रोगजस्तै यो रोग पनि उचित परामर्श तथा उपचारबाट बिरामीको अवस्था सामान्य बनाउन सकिन्छ । तसर्थ मानसिक स्वास्थ्य समस्याबाट जोगिन खुलेर कुरा गर्ने वातावरण बनाउन अति आवश्यक छ ।

जेनिस बिष्ट रुरुक्षेत्र गाउपालिका मा मानसिक स्वास्थ्य परामर्शकर्ताको रुपमा कार्यरत हुनुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?