रुरुक्षेत्रमा पनि संक्रमण दर बढ्दो,पालिकाले गर्यो ८ बेडको आइसोलेसन सेन्टर तयार

माधव ज्ञवाली,  बैशाख २३,  गुल्मी ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा पनि कोरोना भाइरस संक्रमणको दर ह्वात्तै बढेको छ। रुरुक्षेत्र गाउँपालिका स्वास्थ्य शाखाका अनुसार हालसम्म गरिएको एन्टिजेन परिक्षणमा परिक्षण गरिएकाहरुमध्य ६० प्रतिशतको परिणाम पोजेटिभ देखिएको छ।

पालिकामा ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने १० जनाले कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन् ।पालिका भित्र होम आइसोलेसनमा २० जना र पालिका भन्दा बाहिर ४ जना गरि जम्मा सक्रिय संक्रमितको सङ्ख्या २४ रहेको छ। ३ जनाको भने कोरोना भाइरसको संक्रमणका कारण ज्यान गइसकेको छ।

कोरोना भाइरसको संक्रमण पालिकाका सबै वडामा पुष्टि भएको स्वास्थ्य शाखाले जानकारी गराएको छ भने संक्रमण समुदाय स्तरमै देखिएकोले जोखिम थप बढेको छ।

हालसम्म रुरुक्षेत्र १ मा १० जना ,वडा न.२ मा ३ जना,वडा न.३ मा ९ जना,वडा न.४ मा ६ जना,वडा न.५ मा ७ जना र वडा न.६ मा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। यता जिल्लामा बुधबार एकैदिन थप ६८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।यो सङ्गै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ३७० पुगेको छ।

बुधबार थप ३ जनाको मृत्यु भएसङ्गै कुल मृतकको सङ्ख्या १४ पुगेको छ भने २४ घण्टामा १८ जना डिस्चार्ज भएका छन् । बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रुरुक्षेत्र गाउपालिकाले रुरुक्षेत्र १ रुरुमा रहेको रुरु संस्कृत विद्यापिटमा अक्सिजन सिलिन्डर ,नेबुलाइजर मेसिन सहितको ८ बेडको आइसोलेसन सेन्टर तयार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?