गुल्मीमा उपभोक्ता अधिकार दिवस कानुनी सचेतनासंगै निबन्ध प्रतियोगीता

टोपलाल अर्याल गुल्मी, २ चैत

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा बिश्व उपभोक्ता अधिकार दिवसको अवसरमा जिल्लाका व्यावसायीहरुलाई कानुनी सचेतना प्रदान गरिएको छ ।

कार्यक्रममा अधिवक्ता बिनोद पाण्डेयले संविधानमा उल्लेख भएको उपभोक्ता अधिकारको बिषयमा जानकारी दिएका थिए । कार्यक्रममा व्यावसायी एवं सरोकारवालाले उपभोक्ता अधिकार कार्यान्वयनमा राज्य संयन्त्र फितलो भएको गुनासो गरे ।

कार्यक्रममा बोल्दै नागरिक समाजका संयोजक पदम पाण्डेयले नियमनकारी निकाय र अन्य संयन्त्र कम्जोर भएका कारण उपभोक्ताका अधिकार स्थापित हुन नसकेको गुनासो गरे । उनले राज्यको दायित्व कानुन मात्रै निर्माण गर्ने जस्तो देखिएको आरोप लगाए । राज्यले बिदेशका चिल्ला कानुन अनुसरण गर्ने तर कार्यान्वयन, अनुगमन र पीडितको क्षतिपुर्ती भराउने काममा उदाशिन बनेको पाण्डेले बताए । त्यस्तै गुल्मी उद्योग बाणिज्य संघका उपाध्यक्ष इस्वरी पौडेलले गुणस्तर बिभागले उत्पादन स्थलमा अनुगमन नगरेर व्यापारीलाई मात्रै दुख दिने काम गरेको गुनासो गरे । उनले व्याबसायीसंग गुणस्तर चेकजाँच गर्ने उपकरण र उपाय नहुँने कुरामा विभागको ध्यानाकृष्ट नभएको बताए । चेम्बर अफ कमर्सका अध्यक्ष युबराज न्यौपानेले व्यापारीलाई उपभोक्ताले २ नम्बरी भनेर मात्र हेर्ने प्रवृत्तिको अन्त्य गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा गुल्मी उद्योग बाणिज्य सघ र चेम्बर अफ कमर्शमा आवद्ध व्याबसायीहरु, नागरिक समाजका प्रतिनिधी, पत्रकार एवं विभिन्न बिद्यालयका बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै उपभोक्ता अधिकार र विद्यार्थी भुमिका बिषयम निबन्ध प्रतियोगीता समेत सम्पन्न भएको छ । प्रतियोगीतामा ब्रिलेण्ट युनाइटेड ऐकेडेमीका अर्बिन केसी र क्रृचा श्रेष्ठ प्रथम भएका छन् । त्यस्तै अर्जुन आवासीय माविकी कृतिका जिसी द्धतिय, आदर्श बिद्या आश्रमकी सुजता पाण्डेय, सिद्धबाबा माविकी अनुजा गिरी, अर्जुन आवासीय माविका गौरव मरासिनी र आदर्श बिद्या आश्रमका अर्पण भण्डारी तृतिय भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए ।

प्रतियोगीतामा बुद्ध माविकी सपना परियार सान्त्वना भएकी छन् । उत्कृष्ट र सहभागी सवैलाई नागरिक समाजका संयोजक पदम पाण्डेयले पुरस्कृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?