कोभिड नियन्त्रणमा गुल्मी दरबारको कृयाशिलता ,अक्सिजन सहित आइसुलेसन वार्ड तयार

बैशाख २० गुल्मी । गुल्मी जिल्लाकोगुल्मी दरबार गाउपालिका कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जुटेको छ ।

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गईरहेको हुँदा जिल्लाको गुल्मीदरबार गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जुटेको हो ।

गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै अस्थायी कोभिड अस्पताल गौडाकोट स्वास्थ्य चौकीमा ५ शैयाको अक्सिजनको व्यवस्था सहितको आईसोलेसन तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । उहाँले हाल ५ शैयाको भएपनी यसलाई बढाएर १० शैया बनाउने तयारी भएको उल्लेख गर्नुभयो ।

अस्थायी कोभिड अस्पतालमा एन्टिजेन परिक्षण, आर.टि. पिसिआर को लागि स्वाब लिने कार्यको लागि आवश्यक तयारी सहित जनशक्ति र एम्बुलेन्स समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

कोभिड संक्रमण भएको कुनै नागरिकलाई गम्भिर समस्या देखिएको अवस्थामा पालिकाको कोभिड अस्पतालमा ल्याउनको लागि सम्बन्धित वडाको स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्यालले बताउनुभयो ।

उहाँले आवश्यकतानुसार अस्पतालमा ल्याउनको लागि आवश्यक तयारी गरिएको उल्लेख गर्नुभयो । गाउँपालिकाले कोभिड अस्पतालको लागि पटक पटक दरखास्त खुलाउँदा पनि मेडिकल अधिकृतको दरखास्त नपरेकोले अहिले पालिकाकै हेअ,अहेव र नर्सिङ्ग स्टाफहरु परिचालन गरेर स्वास्थ्य सेवा पुर्याउने तयारी गरिएको उपाध्यक्ष मिना भण्डारीले बताउनुभयो ।

सूचना संकलन एवम् संक्रमण रोकथामको लागि कर्मचारी परिचालन गाउँपालिकाका ७ वटै वडामा भारत लगायत विदेशी मूलुकहरु तथा कोभिडको संक्रमण उच्च दरमा फैलिएका जिल्लाबाट आएका नागरिकको तथ्याङ्ग संकलन भेरिफिकेशन लगायतका कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सूचना संकलन एवम् व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको संयोजकत्वमा ५ सदस्यीय पालिकास्तरीय सूचना संकलन तथा व्यवस्थापन समिति गठन गरिएको हो ।समितिको सदस्यमा स्वास्थ्य शाखा प्रमुख अधिकृत छैठौं नारायणप्रसाद अर्याल, अधिकृत छैठौं नवराज घिमिरे, अधिकृत छैठौं टंकप्रसाद पन्थी र सूचना प्रविधि अधिकृत सुरेश खनाल रहनुभयो ।

त्यस्तै वडा कार्यालयहरुसँग वडास्तरमा लगत संकलन तथा रोकथाम नियन्त्रणको लागि समन्वय सहजिकरण तथा रिपोर्टिङको लागि ७ वटै वडा कार्यालयहरुको जिम्मेवारी सहित टिम परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिनुभयो ।उहाँका अनुसार वडा नं. १ मा अधिकृत छैठौं आविश्कार खत्री, वडा नं. २ मा अधिकृत छैठौं सुन्दर चालिसे, वडा नं. ३ मा अधिकृत छैठौं नवराज घिमिरे¸ वडा नं. ४ मा इन्जिनियर राजु अर्याल, वडा नं.५ मा सुचना प्रविधि अधिकृत सुरेश खनाल, वडा नं. ६ मा अधिकृत स्वास्थ्य नारायणप्रसाद अर्याल र वडा नं. ७ मा अधिकृत टंकप्रसाद पन्थी सहित १४ जना कर्मचारीहरुलाई कार्य जिम्मेवारी बाडफाँड गरिएको छ ।

वडाको जिम्मेवारी तोकिएका कर्मचारीहरुले वडास्तरमा लगत संकलनको लागि आवश्यक टोलि कसरी परिचालन गर्ने, वडा समन्वय समितिको कार्य विभाजनका सम्बन्धमा आवश्यक सहजिकरण गर्ने, तथ्याङ्क संकलनको लागि शिक्षक तथा महिला स्वयंसेविका परिचालन, वडास्तरमा रहेका राजनीतिक दल, संघ संस्था परिचालन, आवश्यक परेको अवस्थामा उपयुक्त स्थानमा क्वारेन्टिन छनौट एवं व्यवस्थापन, शव व्यवस्थापनको लागि एउटा वडामा कम्तिमा ९ वटा स्थानको पहिचान, संक्रमण भएका नागरिकको स्वास्थ्य उपचारको लागि आवश्यक व्यवस्थापन लगायतका कार्यहरु गर्ने व्यवस्था मिलाईएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?