छत्रकोटमा खोप र सरसफाईको चर्चा, सबैपक्षलाई हातेमालो गर्न आव्हान

भुवन भुसाल,  गुल्मीको छत्रकोट गाउँपालिकामा खोप र सरसफाईका बिषयमा चर्चा गरिएको छ । बच्चा जन्मिएपछी लगाउनुपर्ने खोप, त्यसको दिगोपनाका बिषयमा गाउँपालिकामा बिस्तृतमा चर्चा गर्दै गाउँपालिकाको अवस्था र थप सुधारका योजनाका बिषयमा समेत चर्चा गरिएको हो ।

पुर्ण खोप सुनिस्चितता तथा दगोपनाको लागि पालिकास्तरिय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, स्वास्थ्य कार्यालय गुल्मी, स्वास्थ्य शाखा, स्वास्थ्यकर्मि, राजनितिक दलका प्रतिनिधी, बिद्यालयका शिक्षक प्रतिनिधी समेतको सक्रिय सहभागिता रहेको थियो ।

गाउँपालिकामा गत बर्ष २९ वटा खोपकेन्द्रबाट सेवा दिने गरिएको भएपनी यो बर्ष त्यो संख्यालाई घटाएर १७ वटा खोप केन्द्रबाट सेवा दिन थालिएको छ । कतिपय खोपकेन्द्रमा खोप लगाउन जम्मा एक वा दुई मात्र बालबालिका आउने गरेकाले सो संख्या घटाईएको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले जानकारी दिनुभयो । एउटै बच्चालाई खोप लगाउन एक अनमी, एक सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ६ भाईल खोप प्रयोग हुने भएकाले न्युन सेवादर भएका खोपकेन्द्र कटौती गरिएको हो ।

समग्र जिल्लामा छत्रकोटको अवस्थाको बारेमा जानकारी राख्दै स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरिक्षक तारा बहादुर कार्किले लुम्बिनी प्रदेशमा खोप खेर जाने दर छत्रकोटमा धेरै भएकाले त्यसको न्युनिकरणको लागी गर्नुपर्ने कामका बारेमा बताउनुभएको थियो ।

गाउँपालिकाको स्वास्थ्य शाखाकी सिनियर अहेव सपना टण्डनले गाउँपालिकामा खोपको बिगत र वर्तमानको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । उहाँले प्रत्येक वर्ष खोप लिने बालबालिकाको संख्यामा कमि आएको बताउँदै जन्मदरमा कमी आएकाले तथ्याकंमा यस्तो देखिएको बताउनुभयो । उहाँले खोप खेरजाने दर कम गर्नका निम्ति सबै सचेत रहुनुपर्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालय नवलपरासीका खोप अधिकृत भेषराज शर्माले खोप अभियानमा दातृ निकाय र नेपाल सरकारको बार्षिक अर्बों रुपैंया खर्च भएको हुनाले यो अभियानमा कोहि नछुटोस भन्नका लागी सबै सरोकारवाल सचेत हुनुपर्ने बताउनुभयो । उहाँले खोपको ईतिहाँस र महत्वका सन्दर्भमा समेत जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा बोल्दै गाउँपालिकाकी कार्यवहक अध्यक्ष सावित्रा ज्ञवाली र जिल्ला समन्वय समितिका सदस्य महेस्वर भण्डारीले पुर्ण खोप सुनिस्चितता कुनै एक पक्षको सक्रियतामा मात्र सम्भव हुने बिषय नभएकाले सबै पक्षको साथ आवस्यक रहेको बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?