वि.पि. स्मृति दिवस : बि.पीको विचार र आजको युवा पुस्ता……

सृष्टि आचार्य
“राजनीति जनताको सेवा हो, स्वार्थ होइन ।”
– बिश्वेश्वरप्रसाद कोइराला

नेपालको लोकतान्त्रिक आन्दोलनका महानायक, मानवता र समभावका धरोहर, साहित्यकार तथा दूरदर्शी चिन्तक बि.पी कोइरालाको ४३ औं स्मृति दिवसमा राष्ट्रभर श्रद्धा प्रकट गरिंदैछ । यथार्थमा, बि.पी केवल राजनीतिक व्यक्ति हुनुहुन्नथ्यो, उहाँ एक दर्शन, एक सिद्धान्त , एक विचार र एक चरित्र पनि हुनुहुन्थ्यो । नेपाली कांग्रेसका नेता मात्र नभई लोकतान्त्रिक आन्दोलनका महान् योद्धा बिपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा आज देशभर कार्यक्रमहरू भइरहेका छन् । तर, ठूला सभा, फूलमाला र भाषणबीच एक गम्भीर प्रश्न उभिएको छ— के हामी बि.पीका साँचो अनुयायी हौं ? वा केवल नाम भजाउने, विचार बिर्सने अनुकरणकर्ता ?

बि.पी कोइरालाः बिचार र संघर्ष

बि.पी कोइरालाले नेपाली राजनीतिमा व्यक्तिको स्वतन्त्रता, सामाजिक न्याय र लोकतान्त्रिक समाजवादको सिद्धान्त स्थापना गर्न आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभयो । उहाँको सोचमा समाजवाद कुनै आयातित दर्शन थिएन, त्यो नेपाली समाजको वास्तविकतालाई आत्मसात् गर्ने, विकास, समावेशीकरण र मानव–स्वतन्त्रताको संयोजन थियो । बि.पी को राजनीतिले सेवा, त्याग र वैचारिक प्रतिबद्धताको पाठ सिकाउँछ । उहाँले उक्त समयमा समाज परिर्वतनको लागि नारा मात्र दिनुभएन, समाज परीर्वतनको लागि आफ्नो विचारको मुल्य चुकाउन कठोर जेल जिवन विताउन वाध्य हुनु पर्यो । आज हाम्रो राजनीतिमा त्यस्तो उदाहरण दुर्लभ हुँदै गएको छ जहाँ पद छ, शक्ति छ, तर विचार छैन ।

बिपीले लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्था होइन, जीवनपद्धति मान्नु भएको थियो । व्यक्तिको स्वतन्त्रता, प्रेसको स्वतन्त्रता, न्यायप्रणालीको पारदर्शिता र गरिबको न्यायको पक्षमा उहाँले सदैव दृढ अडान लिनुभयो ।
उहाँले स्पष्ट रूपमा भन्नुभएको थियो — “लोकतन्त्र बिना समाजवाद सम्भव छैन, समाजवाद बिना समानता सम्भव छैन ।”

यस दृष्टिकोणले उहाँले स्वतन्त्रता र समतासहितको प्रगतिशील लोकतन्त्रको मार्गचित्र कोर्नुभयो, जसले नेपालजस्तो विविधतायुक्त समाजमा दीर्घकालीन शान्ति र स्थायित्व सम्भव बनायो ।

सिद्धान्त बिर्सेर सत्ता भोगको दौडमा

बि.पीले भन्नुभएको थियो  — “राजनीति जनताको सेवा हो, स्वार्थ होइन ।”  तर आजका धेरै नेताहरू त्यही वाक्य उल्ट्याएर सत्ता र सौदाबाजीको खेलमा रमाइरहेका छन् । बि.पीको नाम बोकेर हुने आजका गतिविधिमा विचार, जनउत्तरदायित्व र मूल्य–मान्यताको खोजी गर्नु पर्ने आवश्यक देखिन्छ । गुट–उपगुट, भागबन्डा, टिकट राजनीति र पदप्राप्तिको दाउपेच आजको राजनीति बनेको छ ।

बिपीः सुविधाभोगी परिवारबाट त्यागको राजनीतिमा

बिपी कोइराला सुविधा सम्पन्न पृष्ठभूमिबाट आएका व्यक्ति थिए । उहाँका लागि राजकीय जीवनमा पुग्न सहज बाटो थियो, तर उहाँले सजिलो जीवन होइन, संघर्षको बाटो रोज्नुभयो । नेपाली जनताको अधिकारका लागि कयौँपटक जेल बस्नुभयो, निर्वासन सहे, अपमान पनि सहनुभयो ।गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता सहयात्रीहरूका साथ उहाँले नेपाली लोकतन्त्रको जग राख्न निर्णायक योगदान गर्नुभयो ।

किसान र गाउँको केन्द्रमा राजनीति

बि.पीका लागि राजनीति कुनै सहरीया विलासि जिवन को रौनक थिएन, नेपाली ग्रामिण किसानको घामले पोलिएको पाखुरा र ग्रामिण जिवनको मेहेनति किसानको दुखको गहिराइमा गडिएको थियो । उहाँ भन्थे— “किसानको अधिकार नदिएसम्म समाजवाद सम्भव छैन।“ तर आज ‘किसान’ शब्द चुनावी भाषणका लागि मात्रै प्रयोग हुन्छ । भूमिहीन किसानका सपना, गाउँको पलायन, र कृषि संकटप्रति राज्य र नेताहरूको दृष्टि तगारो झैं बाँधिएको छ ।

युवाप्रति राजनीति निराशाजनक किन ?

आजको पुस्ता राजनीतिप्रति आकर्षित हुन सकेको छैन, किनकि उनीहरूले देख्ने राजनीति भनेको घृणा, आरोप, सत्ताको दम्भ र अवसरको दासता मात्र वनेको छ । बिपीका विचारहरूमा राजनिति नैतिक साहस थियो, विचारमा स्पष्टता थियो, अनि देश बनाउने सपना थियो । त्यही बाटो समात्दा मात्र युवाले आफ्नो भविष्य सुरक्षित गर्न सक्छन् ।
श्रद्धाञ्जली नारामा होइन, अनुशरणमा देऊ
आज बिपीलाई सम्झिनेहरू धेरै छन्, तर उहाँका विचार बोक्न सक्नेहरू अत्यन्त थोरै। लोकतन्त्र नारामा होइन, आचरण र व्यवहारमा देखिनुपर्छ । यदि हामी साँच्चै बिपीलाई श्रद्धाञ्जली दिन चाहन्छौं भने, उनको राजनीतिक नैतिकता, ग्रामीण जनजीवनप्रतिको समर्पण, र विचारको प्रतिबद्धता बोकेर अघि बढ्नुपर्छ ।

निष्कर्षमा…

बिपी विचार हुन्, केवल ऐतिहासिक व्यक्ति होइन । उहाँको राजनीतिक यात्राले हामीलाई देखाएको बाटो आज पनि उत्तिकै सान्दर्भिक छ । उहाँले समेटेका विषय—किसान, ग्रामीण जनजीवन, शिक्षा, सामाजिक न्याय, लोकतान्त्रिक स्वतन्त्रता—आजको राजनीतिमा अझै पनि अधूरा सपना बनेर बाँकी छन् । यदि आजका युवाले बिपीको विचार पढे, बुझे र आत्मसात् गरे भने, तिनले नेतृत्वमा नवीन ऊर्जा ल्याउन सक्छन् । आजको यथार्थसँग जुझ्न सक्ने राजनीतिक चेतनाले यिनै विचारबाट जन्म लिन्छ ।
बिपीलाई श्रद्धाञ्जली दिनु भनेको उहाँजस्तै सिद्धान्तमा अडिग रहनु, उहाँले झैं नागरिकप्रतिको उत्तरदायित्व बुझ्नु, र राजनीति जनताको मुहार फेरिने माध्यम बनाउनु हो। यदि हामीले उहाँको नाम मात्रै बोकेर विचार भुलेर हिंड्यौं भने, त्यो बिपीप्रतिको घोर अपमान हुनेछ ।अबको यात्रा नाराबाट होइन, कार्यदिशाबाट तय होस्। बिपीका सपना पुस्तान्तरित होउन्, विचारहरू व्यावहारिक राजनीतिमा रूपान्तरण हुन ।उहाँको सम्झना एकदिनको औपचारिकता होइन, राजनीतिक संस्कार निर्माण गर्ने यात्राको निरन्तर प्रेरणा हो । आजको युवा पुस्ताले बिपीलाई बुझ्न सके ,राजनीति फेरि पनि विचार र सपनाको विषय बन्न सक्छ ।
जय नेपाल !
जय बिपी !
जय लोकतन्त्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?