
भुवन भुसाल, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाको नवनिर्मित आधारभुत अस्पतालको उदघाटन गरिएको छ । आज एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उदघाटन गर्नुभएको हो ।
१२ करोड ९४ लाख ५६ हजार ९ सय १३ लागतमा बिकोई अर्जुन न्यु लिजा जेभी रेसुङ्गा नगरपालिका तम्घासले निर्माण सम्पन्न गरेको हो ।
अस्पताल भवन उद्घाटन गर्दै मन्त्री कार्कीले माइक्रोस्कोप र ईसिजी मेसिन हस्तान्तरण समेत गर्नुभयो । प्रमुख अतिथी समेत रहनुभएका मन्त्री कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै अस्पताल भवन निर्माण भन्दा चुनौतीपुर्ण यसको दिगो संचालन रहेको बताउनुभयो । उहाँले सरकारको लगानीमा निर्मित अस्पतालको नियमित संचालनको जिम्मेवारी अब स्थानियको हुने भएकाले सबैको साथ आवस्यक पर्ने बताउनुभयो ।
उहाँले उपचार गर्न आएको बिरामी संग मिठो बोल्न, असल व्यवहार गर्न स्वास्थ्यकर्मी संग आग्रह गर्दै चिकित्सकको मिठो बोलीले आधा रोग निको भएको अनुभुति हुने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले असामान्य चुनौतिका बिच भवन बनेको बताउँदै निर्माणको परिकल्पना देखी यहाँ सम्म ल्याउन सहयोग गर्ने सबै पक्षको स्मरण गर्दै आभार व्यक्त गर्नुभयो । अस्पताल भवन बनिसके पछि संचालनको चुनौती रहेको उहाँले बताउनुभयो । अस्पताल संचालनको लागी प्रतिनिधी सभा सदस्य डा चन्द्र भण्डारीको कृयाशिलतामा स्वास्थ्य मन्त्रालयबाट २० लाख बराबरका उपकरण आएको भन्दै सांसद भण्डारी संगै मन्त्री प्रदिप पौडेललाई समेत धन्यवाद व्यक्त गर्नुभयो ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले देशमा स्वास्थ्यको क्षेत्रमा भएका सुकर्मका कारण मातृ शिशु मृत्युदर घटेको, औषत आयु बढेकोमा खुशी व्यक्त गर्दै अस्पताल भवन निर्माण गरी संचालन गरेकोमा गुल्मीदरबार परिवारलाई बधाई दिनुभयो ।
स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपती आचार्यले निर्मित भवनमा पाईने सेवाका बिषयमा जानकारी राख्दै सफल सेवा प्रवाहको शुभकामना दिनुभयो ।
ठुलान आधारभुत स्वास्थ्य सेवा केन्द्र उदघाटन
सोमबार नै एक समारोहका बिच गाउँपालिकाको वडा नं ६ चिनियापोखरीमा नवनिर्मित ठुलान आधारभुत स्वास्थ्य सेवा केन्द्रको समेत उदघाटन गरिएको छ ।
यो भवनको समेत लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले समुदघाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्ने सबै वक्ताहरुले स्वास्थ्य जिवनको सबैभन्दा ठुलो कुरा भएकाले स्वास्थ्य चौकी भवन निर्माणमा भुमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गर्दै सफल सेवा प्रवाहको कामना गर्नुभएको थियो ।
यो भवन संगै गुल्मीदरबार गाउँपालिकाको ७ वटै वडामा स्वास्थ्य चौकी भवन निर्माण भैइसकेका छन । यस अगाडी वडा कार्यालयको एउटा तलाबाट केन्द्रले सेवा दिईरहेको र अब सबै वार्डमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारका अर्थ बिज्ञ ईश्वरी अर्यालले भवन निर्माणको चरणमा महत्वपुर्ण सहयोग गरेको भन्दै आभार व्यक्त गर्नुभयो ।
अधिवक्ता एव्म गुल्मीदरबार गाउँपालिकाका कानुनी सल्लाहाकार हरी अर्यालले भवन बन्नु आफैमा सफलता भएपनी वास्तविक सफलता नागरिक सन्तुष्टीमा हुने भन्दै आगामी सेवा थप परिस्कृत हुन सकोस भन्ने कामना गर्नुभयो ।
निवास ईन्जिनियरिङ कन्सल्टेन्सीले उक्त सेवा केन्द्र भवन १ करोड ८९ लाखमा ठेक्का सम्झौता गरि समय अगावै निर्माण सम्पन्न गरेको हो ।