“शिक्षकहरुको आन्दोलन अधिकार हो तर बिध्यार्थीको पढ्न पाउने अधिकार पनि नखोसियोस” : अध्यक्ष पाण्डेय

गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीका अध्यक्ष रामप्रसाद पाण्डेयले शिक्षकहरुको आन्दोलन हुँदै गर्दा बिध्यालय बन्द रहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । गाउँपालिकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाईमा बोल्दै उहाँले आफु शिक्षकका जायज माग पुरा हुनुपर्ने पक्षमा रहेको भएपनी बिध्यालय बन्द रहेको प्रति चिन्तित रहेको बताउनुभएको छ ।

“प्रतिनिधीमुलक शिक्षक आन्दोलनमा पनि जाने, केहि शिक्षक बिध्यालयमा रहेर नतिजा प्रकाशन , नयाँ भर्ना र पुस्तक वितरण लगायतका काम गर्न पाए आजको अफ्ठ्यारो टर्थ्यो” अध्यक्ष पाण्डेयले भन्नुभयो । स्थानिय धर्मराज ढकालले आफ्ना बालबालिका शिक्षकका आन्दोलनका कारण घरमै रहेकाले पालिकाले खेलेको भुमिका के हो भन्दै आफु अभिभावकहरु पनी आन्दोलनमा जानुपर्ने हो भन्दै प्रश्न गर्नुभएको थियो ।

जवाफमा अध्यक्ष पाण्डेयले शिक्षकका माग सम्बोधन गर्ने अधिकार स्थानिय तहमा नभएको बताउँदै बालबालिकामा परेको यो क्षेतिपुर्ती हुने दाबी गर्नुभयो । “छत्रकोट गाउँपालिकाको हकमा यो क्षेति पुर्ती हुने व्यवस्था मिलाउँछौ, अभिभावक ढुक्क हुनुहोस” अध्यक्ष पाण्डेयले भन्नुभयो । उहाँले शिक्षकको आन्दोलनले निजि बिध्यालयलाई फाईदा पुग्ने अवस्था बन्ने र सामुदायिक बिध्यालय खाली हुँदा स्वयम शिक्षकलाई पनि पर्ने असर प्रति पनि समवेदनशिल बन्न शिक्षकहरुलाई आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?