गाउँमै पुगेर नागरिकको गुनासो सुन्दै छत्रकोट गाउँपालिका

 

भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँमै पुगेर नागरिकको सुनासो सुन्दै त्यसको समाधान र सुझाव लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

पालिकाको केन्द्रमा कार्यक्रम गर्दा नागरिक सहभागितामा अफ्ठ्यारो पर्ने भएकाले यो पटक वडा नं २ पल्लिकोटमा पुगेर सार्वजनिक सुनुवाई सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताउनुभयो । कार्यक्रममा अध्यक्ष पाण्डेय संगै उपाध्यक्ष साबित्रा ज्ञवाली , प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरी, वडा अध्यक्षहरु, जनप्रतिनिधीहरु, शाखा प्रमुखहरुको सहभागिता जवाफदेही वक्ताको रुपमा रहेको थियो । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष पिताम्बर अर्याल, कांग्रेसका प्रेम भण्डारी, माओवादी केन्द्रका छत्रकोट संयोजक रामचन्द्र कंडेल लगायतको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमको सुरुमै प्रमुख प्रशासकीय अधिकृत पुरीले अघिल्लो सार्वजनिक सुनुवाईमा उठेका बिषयको समाधान गरिएका बिषयको जानकारी राख्दै चालु आर्थिक बर्षको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

माओवादी केन्द्रका रामचन्द्र कंडेलले सार्वजनिक सुनुवाईमा सुझाव राख्दै सार्वजनिक सुनुवाईमा उल्लेखनीय सहभागिता नहुनु दुखद भएको बताउनुभयो । उहाँले स्थानिय पाठ्यक्रम निर्माण गर्दा कम्प्युटर बिषय हटाईएकोले प्रत्यक बिध्यालयमा कम्प्युटर शिक्षक राख्न आग्रह गर्नुभयो । उहाँले बिध्यालयमा इन्ट्र्याक्टिभ स्मार्ट बोर्ड जडान गरिदिन, मनोसामाजिक परामर्शका कार्यक्रम संचालन गर्न सुझाव दिनुभयो ।

संचारकर्मी समेत रहनुभएका स्थानिय युगराज बश्यालले अघिल्लो सार्वजनिक सुनुवाईमा उठेका बिषयको समाधानको अवस्थाको जानकारी गराएकोमा धन्यवाद दिनुभयो । बश्यालले गाउँपालिकाले युवा व्यवसाय कर्जा अनुदान कार्यक्रमलाई निरन्तरता दिन, उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई थप व्यवस्थित बनाउन, स्थानिय संचार माध्यमलाई पालिका संग काममा जोड्न आग्रह समेत गर्नुभयो ।
शिवलाल घर्तीले जनता बालबिकास केन्द्रको ग्राउण्ड वाल पहिरो गएको तर त्यो निर्माणको लागी सबैतिर धाउँदा पनी काम नभएको गुनासो राख्नुभयो ।
उठेका सबै बिषयमा मुख्य जवाफदेही वक्ता एवम गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले जवाफ दिनुभएको थियो । कार्यक्रमको सहजिकरण संचारकर्मी सुदर्शन पन्थले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?