
भुवन भुसाल, गुल्मी । पाठेघरको मुखको क्यान्सर बिरुद्द लगाईने एचपिभी खोप देशव्यापी रुपमा लगाईंदै छ । बिध्यालयमा कक्षा ६ देखी १० सम्म र बिध्यालय नजाने १४ बर्ष सम्मका किशोरीहरुलाई यो खोप लगाईंदै छ ।
छत्रकोट गाउँपालिकामा आज एक अभिमुखीकरण कार्यक्रम गरेर खोप कार्यक्रमको बिषयमा जानकारी गराउँदै कार्यक्रम सफल बनाउने बिषयमा छलफल गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै छत्रकोटका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले खोप सबै हिसावले सुरक्षित रहेको तर किशोरीहरुलाई लगाईने भएकाले केहि चुनौती रहेकाले सबै खालका समस्या समाधान गरेर खोप कार्यक्रम सम्पन्न गर्न सबैको सहयोग रहने बिष्वास लिनुभयो ।
गुल्मी जिल्लाका जनस्वास्थ्य अधिकृत पशुपती आचार्यले जिल्लाका ११ हजार ४ सय ८८ किशोरीहरुमा यो खोप लगाईने जानकारी दिनुभयो । नेपालमा गत आर्थिक बर्षमा २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर देखीएको तथ्याङ्क देखाउँदै आचार्यले प्रत्यक बर्ष एक हजार ३ सय १३ महिलाको मृत्यु भएको जानकारी गराउनुभयो । पाठेघरको मुखको क्यान्सर बिरुद्दको खोप अभियान २२ गते देखी सुरु हुँदै छ । खोप लगाउने स्वास्थ्यकर्मी बिध्यालय र स्वास्थ्य चौकीमा पुग्नेछन । यो खोप एन्टिबायोटिक सेवन गरिरहेका बिरामी र गर्भवतीलाई भने नलगाईदिने जनस्वास्थ्य अधिकृत आचार्यले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षतामा संचालित कार्यक्रममा जनप्रतिनिधीका साथै बिध्यालयका प्रधानाध्यापक र संचारकर्मीको समेत सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सिअहेव सपना टण्डनले गर्नुभएको थियो ।