
भुवन भुसाल, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशन सम्पन्न भएको छ । चालु आर्थिक वर्षको हाल सम्म भएको प्रगती विवरण , चुनौती समस्या र केहि योजनाको संशोधन गर्दै गाउँसभाको बैठक सम्पन्न भएको हो ।
गाउँसभाको बुधबार बसेको बैठकमा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पुँजीगत तर्फ २० प्रतिशत र चालु तर्फ २५ प्रतिशत बित्तिय प्रगती हासिल भएको सभालाई जानकारी गराउनुभयो । उहाँले पुँजिगत तर्फ ३ करोड ६७ लाख ७७ हजार ११९ रुपैँया र चालुतर्फ ९ करोड ४२ लाख ५९ हजार रुपैँया खर्च भएको बताउनु भयो ।
सभालाई संबोधन गर्दै अध्यक्ष ज्ञवालीले न्यायिक समितीले गरेका काम, सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद, सामाजिक समावेशिकरण, कृषि तथा पशुपालन, भौतिक पुर्वाधार, सुशासन तथा संस्थागत विकास लगायतका बिषयमा पालिकाले गरेका काम र प्राप्त उपलब्धीका बिषयमा जानकारी गराउनुभएको थियो । गाउँसभाको सत्रौं बैठकमा केहि योजनाको नाम परिवर्तन गरिएको भएपनी कुनै पनि योजनाको रकम रकमान्तर गरिएको छैन । अर्को बैठकको मिती पछि तोक्ने गरी आजको बैठक सकिएको छ।