भजन कृतनको जगेर्नामा छत्रकोट गाउँपालिका, हराउन थालेको भजनकृतन प्रवर्द्दनको लक्ष्य

भुवन भुसाल गुल्मी । कुनै समय थियो पबित्र दिनमा टोलटोलमा खैजडी मादल र मजुराको धुनमा भगवानको भजन कृतन गुन्जिन्थे । जानेकाले बजाउँथे, गाउँथे, नाच्थे, नजान्नेले थपडि मात्रै बजाएर आनन्द लिन्थे । भजन गाउँदा गाउँदै हनुमान उत्रीएका दृष्य त सामान्य जस्तै लाग्थ्यो । उत्रीएका हनुमानले पानीले भरिएको तामाको गाग्री दाँतले टोकेर उठाउँथे । भजनले धार्मिक आनन्द संगै शरिर सम्म फुर्तिलो बनाउँथ्यो । सामाजिक एकता बढ्थ्यो संस्कृतीको समेत संरक्षण गर्थ्यो ।

समयक्रम संगै आधुनिकताले भजन हरायो । गाउँका पुजा आजामा प्रविधीको प्रयोग मार्फत भजन बजाउन थालियो अझै हिन्दी भाषाका भजनको स्वर ठुलो सुनिन थाल्यो ।

हाम्रा बाजा, लय र शब्द सम्म हराउन थालेको आजको नेपाली समाजमा गुल्मीको छत्रकोटमा भने भजन प्रतिको आकर्षण बढ्दो छ । छत्रकोट ३ भालुपानीमा एकादशीको दिन भजन गाउँने नाच्नेको भिड नै लाग्ने गरेको युवा भजन गायक हिमाल पन्थले बताउनुभयो । हर्दिनेटाको धरमपानीमा पुर्णिमाको रात भजन टोलीले माहोल नै धार्मिक बनाउँछ । दिगामको भजन भनेपछि गुल्मीमा मात्र होईन छिमेकी जिल्लामा समेत अलग्गै चर्चा हुने दिगामका हुमनाथ पन्थको भनाई छ । वडा नं १ हुगामा पनि भजनका समुहहरु छन ।

गाउँपालिकामा रहेका भजन कृतनको संरक्षण र प्रवर्द्दन गर्न गाउँपालिका स्तरिय समिती समेत गठन गरिएको छ । गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले एक बैठकको आयोजना गरी नयाँ समिती गठन गरिएको हो । हुमनाथ पन्थको अध्यक्षतामा गठित समितीको उपाध्यक्षमा छबिलाल सुबेदी, सचिव हिमाल पन्थ, कोषाध्यक्ष सिता गाहा, सहसचिवमा तिलकराम घिमिरे चयन हुनुभएको छ । नव गठित समितीको सदस्यहरुमा गिरी प्रसाद न्यौपाने, बैकुण्ठ पन्थ, होमाकान्त सुबेदी, कृष्ण पन्थ, सिता अर्याल, पुष्पा रजाली, रोसन सुबेदी, टोपलाल सुबेदी चयन हुनुभएको छ ।

भजनकृतनमा कृयाशिल व्यक्तीहरुलाई गाउँपालिकामा निमन्त्रणा गरी गाउँपालिका अध्यक्ष पाण्डेयले यहाँको मौलिक संस्कृतीको रुपमा रहेको भजन कृतन संरक्षण र सम्बर्द्दनमा लाग्न आग्रह गर्दै हरेक किसिमका सहयोग गर्न गाउँपालिका तत्पर रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली , प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरी, अधिकृत छैठौं हरी टण्डन, शिक्षा अधिकृत टिकाराम आचार्य लगायतको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?