
भुवन भुसाल, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा मंगलबार आयोजित औपचारिक कार्यक्रममा दशैं, तिहार, छठ, नेपाल संम्वत् लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, पुर्व मुख्य सचिव लिलामणी पौडेल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, वडा अध्यक्षहरु, लगायत जनप्रतिनिधि, कर्मचारी, राजनितिक दल, स्थानिय समाजसेवी लगायतको बाक्लो उपस्थिती थियो ।
कार्यक्रममा उपस्थित सबैले शुभकामना आदानप्रदान गर्दै खुशी साटासाट गरेका थिए । कार्यक्रममा पुर्व मुख्य सचिव लिलामणी पौडेलले दशैं केवल हिन्दु धर्मको मात्र नभई नेपालीको मौलिक चाड रहेको बताउनुभयो । संसारमै यस्तो सारा देश बासीले मनाउने पर्व अन्यत्र कहिँ नभएको समेत बताउनुभयो । दशैं धर्मका हिसावमा शक्तिको आरधाना गरेर, सामाजिक हिसाबमा भेटघाट र जमघट गरेर र अर्को सांस्कृतिक हिसावमा जमराको बहुआयामिक गुणको बहुआयामिक प्रयोग, चामलको टिका लगाएर अन्नको संरक्षणमा जोड, सरायँ लगायतका नाचले खेलको प्रवद्र्धन, ईतिहासको संरक्षणका हिसावले दशैं नेपालको मौलिक पर्व रहेको समेत दृष्टान्त पेस गर्नुभयो ।
पौडेलले चाडवाडलाई खर्चिलो नबनाएर मितव्ययी बनाउन आग्रह गर्नुभयो । उहाँले कामका लागी संसारको जुनसुकै देश पुगेपनी थातथलो नबिर्सन र चाडवाड आफ्नै जन्म स्थानमा मनाउन अनुरोध गर्नुभयो ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले महान चाडको सबैमा शुभकामना व्यक्त गर्दै चाडवाडलाई खर्चिलो नबनाई मनाउन आग्रह गर्नुभयो । मौलिकता हराउन नदिन हामी सबै लाग्नुपर्नेमा जोड दिंदै अग्रजका अनुभव र पुराना चलन अनुसार नै पर्व मनाउन अनुरोध गर्नुभयो । उहाँले दशै मनाउन गाउँ आएका समयमा गाउँपालिकालाई रचनात्मक सुझाव दिन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा जिवन बिज्ञानका प्रशिक्षक हरी ज्ञवालीले सहभागीलाई योग समेत गराउनुभएको थियो ।