चन्द्रकोट गाउँपालिकामा विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मान कार्यक्रम सम्पन्न

 

गुल्मी । चन्द्रकोट गाउँपालिकामा राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा आयोजित विशेष विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

सो अवसरमा शैक्षिक सत्र २०८० मा आधारभूत तह (कक्षा ५ र ८), माध्यमिक शिक्षा परीक्षा (एसईई), र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा उत्कृष्ट जिपिए प्राप्त गर्ने ७ जना विद्यार्थीलाई उत्कृष्ट विद्यार्थी सम्मान स्वरुप विशेष सम्मान प्रदान गरिएको छ।

त्यसैगरी, शिक्षकहरूको प्रयास र योगदानलाई उच्च सम्मान दिँदै कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा उनीहरूको भूमिकाको प्रशंसा गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा शत प्रतिशत नतिजा निकाल्न सफल ४७ जना विषयगत शिक्षकलाई पनि सम्मानित गरिएको छ।

सोही अवसरमा चन्द्रकोट गाउँपालिकाबाट सहभागी विद्यालयहरूमध्ये आधारभूत तह र माध्यमिक शिक्षा परीक्षामा सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउन सफल ४ वटा विद्यालयलाई सम्मान प्रदान गरिएको थियो।

यसैगरी, शैक्षिक सत्र २०८० देखि शैक्षिक सत्र २०८१ को भदौ मसान्तसम्म अवकास प्राप्त गर्ने ५ जना शिक्षकलाई पनि उनीहरूको दीर्घकालीन सेवा र योगदानका लागि सम्मानित गरिएको छ ।
कार्यक्रम चन्द्रकोट गाउँपालिका अध्यक्ष एवम् शिक्षा समितिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा सम्पन्न भएको हो । जसमा गाउँपालिकाका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा वडाध्यक्ष, शिक्षक संघ संगठनका अध्यक्ष, प्रअ, शिक्षक, विद्यार्थी तथा गाउँपालिकाका राष्ट्रसेवक कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमले चन्द्रकोट गाउँपालिकामा शैक्षिक क्षेत्रको सुधार र प्रगतिको प्रतिबद्धतालाई प्रकट गर्दै, शिक्षक, विद्यार्थी र विद्यालयहरूको योगदानलाई उच्च सम्मान प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?