भुवन भुसाल, गुल्मी । प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले स्थानिय सरकारले गलत गर्दा साक्षी नबस्न आग्रह गर्नुभएको छ । राम्रो गर्दा साथ गलत गर्दा खरो खबरदारी गर्न समेत निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । अधिकार सम्पन्न स्थानीय सरकारलाई पर्याप्त बजेट नभएको समेत उहाँको भनाई छ । कांग्रेस केन्द्रिय सदस्य समेत रहनुभएका उहाँले अब स्थानिय तहलाई बजेट समेत पर्याप्त उपलब्ध बनाउनुपर्ने बताउनुभयो ।
अगुवा कार्यकर्ता एवं जनप्रतिनिधि समेत सहभागी कार्यक्रममा सरकारका गलत काम कारवाहीमा खवरदारी गर्न र जनताको आवाज उठाउन आग्रह गर्नुभयो ।
यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापती भुवन प्रसाद श्रेष्ठले चुनावी प्रतिस्पर्धा कांग्रेस र एमालेकै बिचमा हुने बताउनुभएको छ । संविधान संशोधन गरेर स्थायी सरकारको दिशामा अगाडि बढ्ने एमाले कांग्रेसको सम्झौता कार्यान्वयन गर्न नसके सबैभन्दा घाटा कांग्रेसले व्यहोर्नुपर्ने बताउनुभयो ।
छत्रकोट गाउँ कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी बाट जितेका जनप्रतिनिधि जनताप्रति सधै उत्तरदायी बन्नुपर्ने समेत बताउनुभयो । उपसभापति श्रेष्ठले प्रतिबद्ध कांग्रेसले रास्वपाको घण्टी बजाउँदै राप्रपाको हलो जोत्न जाँदैन भन्दै प्रशिक्षणलाई कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका उपसभापती अनन्त पौडेल, पालिका सभापति धाता नन्द भुसाल, नेता महेन्द्र भण्डारी, महेश्वर भण्डारी, मार्कण्ड भण्डारी लगायत जिल्ला, क्षेत्रीय र पालिका स्तरिय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।