भुवन भुसाल, गुल्मी । देशमा बस्ने वातावरण नदेखेर बिदेशको भिषा लाग्दाको दिन ४ हात उफ्रिने युवाको जमात हाल नेपालमा लामै छ । २०६५ सालमा परिवार पाल्न, आफ्ना सपना पुरा गर्न परदेश जाने सोंच बनाएका छत्रकोट ३ काउलेका नारायण पन्थको पनी कतारको भिषा लगेपछि खुशीको सिमा नै थिएन ।
त्यतीबेला अहिले जस्तो युरोपका देश जाने ट्रेण्ड थिएन अधिकांश नेपाली भारतमा मजदुरी गर्थे कतारको भिषा लाग्नु ठुलै मानिन्थ्यो । नारायण पन्थ कतार पुगेपछि आर्थिक रुपमा त राम्रै थियो तर परिवार संगको दुरी, अनवरत १२ घण्टा कामले दिएको थकान र एक पटक जव संगै खाना खाएर सुतेको साथीको ओछ्यानमै ज्यान गएको देख्नुभयो तव लाग्यो ढिलो चाँडो हो आफ्नो पनी यहिँ हालत नहोला भन्न सकिन्न । नारायण पन्थले १० वर्ष कतारको कामलाई यहिँ बिट मारेर नेपाल फर्किने, नेपालमा आफ्नै पुर्खाले अर्जेको सम्पत्तिमा दुःख गर्ने, अरु युवालाई पनी देश नै सहि भन्ने सन्देश दिने निदो गरेर २०७५ सालमा नेपाल फर्किनुभयो ।
नेपाल आएर चारैतर्फ घुम्दा बाख्रा पालनमा राम्रो संभावना रहेको थाहा पाएपछि नुवाकोट र बुटवलमा बाख्रा पालन संम्बन्धी तालिम, देशभरका सफल बाख्रा पालक किसान संग अन्तरक्रिया गर्दै आफ्नो बाख्रा पालनको योजना अगाडि सारेर सोहि बर्ष छत्रदेबी कृर्षि तथा पशुपंक्षी फर्मको स्थापना गर्नुभयो । बाख्रा पालनका लागी २ सय बाख्रा अट्ने खोर, बाख्राका लागी चाहिने अन्य भौतिक संरचना तयार गरी उहाँले आफ्नो १६ रोपनीमा घाँस खेती सुरुगर्नुभयो । आफ्नो जग्गामा मात्र गरेको घाँस खेतीले नपुगेपछी थप ६० रोपनी जग्गा लिजमा लिएर त्यसमा पनी घाँस खेती सुरुगर्नुभयो ।
आज के छ नारायण संग
नारायण पन्थको कृर्षि फर्ममा ४० वटा बाख्रा छन, वरपरको बारीभरी ९ थरीका नेपियर जातका घाँस र बिरुवा छन् । उहाँले गरेको व्यवसाय, मेहनत र आगामी योजना देखेपछि बिभिन्न सरकारी निकायले साथ र सहयोग पनी दिएका छन । बाख्रा पालन र घाँस खेतीको यो ८ वर्षमा उहाँको कृर्षि फर्मलाई भेटेरीनरी अस्पताल तम्घासबाट १ लाख, घरेलु तथा साना उद्योग कार्यालयबाट तौल मेसिन, कृर्षि ज्ञान केन्द्र गुल्मीबाट १ लाख, छत्रकोट गाउँपालिकाबाट २ लाख अनुदान पनी मिलेको छ । यो बर्ष छत्रकोट गाउँपालिकाबाट कृषक प्रोत्साहन कार्यक्रम बाट १५ हजार समेत उहाँले पाउनुभएको छ । उहाँले आगामी बर्ष डाले घाँसको नर्सरी बनाउने योजना समेत सुनाउनुभयो ।
केहि आफ्नै त केहि बैंक तथा बित्तिय संस्थाबाट ऋिण लिएको रकम लगानी गरेर सुरुगरेको व्यवसायमा उहाँका समस्या पनी छन् । घाँसको बिउ भनेको समयमा नबिक्नु, बैंक तथा बित्तिय संस्थाले आफुखुसी व्याजको प्रतिशत बढाउनु, व्याजमा अनुदान नहुनु, नस्ल सुधारका लागी बिउ बोकाको मुल्य अत्याधिक हुनु मुल समस्या रहेको पन्थले बताउनुभयो । सरकारले नदिए किसान आफैले किन्थे, नजिक जहाँ पाईन्छ त्यहिँ किन्दा मेरो बिउ बिक्थ्यो, सरकारले निशुल्क बाँड्छ, त्यो बाँड्न अन्यत्रबाट खरिद गर्छ कहिलेकाहिँ त दिक्क लाग्छ पन्थले भन्नुभयो । नजिकैका स्थानिय सरकारले अन्यत्रबाट घाँसको बिउ किन्नु आफ्नै पालिका भित्रको उत्पादन उपेक्षित भएको देख्दा हैन नेपालमा नहुने नै रैछ की भन्ने लाग्ने उहाँले गुनासो गर्नुभयो ।
म एक पात्र हुँ म जस्ता कती युवा परदेश छोडेर नेपालमा नै केहि गर्छु भनेर लागेका छन् यस्तै समस्या रहिरहे म पनी पलायन नै हुनुपर्ने हो की भन्ने डर लाग्छ पन्थले भन्नुभयो ।
यसो भन्दै गर्दा यहाँ पुरै निरासा मात्र नभएको समेत उहाँको भनाई छ । परिवार संग बस्न पाईएको छ, व्यक्तिगत, व्यवसायीक काम संगै सामाजिक काममा हातेमालो गर्न पाईएको छ, पुरै निरासा हैन यहाँ संभावना नै धेरै छ भन्नेकुरामा उर्जाशिल छु सकुन्जेल नेपालमै गर्ने हो आगे देखा जायगा पन्थले आशाको नजरले बाख्रा तर्फ हेर्दै भन्नुभयो ।