भुवन भुसाल गुल्मी । गाउँमा केहि छैन, यहाँ गरेर केहि हुनेवाला छैन, यहाँ मरिमेटेर काम गरेर खान लाउन सम्म धौ धौ छ । ग्रामिण भेगका मानिसका मुखबाट धेरै सुनिने कुरा हुन यी । मुखबाट निरासा ओकल्ने मात्र हैन केहिले गाउँ चटक्कै छोडेर हिडिसके, केहि हिड्ने तयारीमा छन पनी ।
गुल्मी एउटा पहाडि जिल्ला हो, यहाँबाट बसाईसराई दिन दुईगुणा रात चौगुणा छ । जिल्लाकै कुनैसमयका मै हुँ भन्ने व्यवसायीले समेत यहाँ कमाएको रकम रुपन्देही, काठमाण्डौ लगायतका जिल्लामा लैजाँदा यहाँको पुँजि पलायन भएको पनी सत्य हो । के गाउँमा सतहमा देखिएको निरासा जस्तै वास्तवमै निराश हुनुपर्ने अवस्था छ त ? के यहाँ कसैले केहि पनी संभावना देखेकै छैनन् त ? त्यस्तो पनी पक्कै होईन ।
गुल्मीको एउटा मात्र पालिकामा निजि क्षेत्रले देखेको संभावनाको चर्चा यहाँ गर्न खोजिएको छ । बिगत ५ वर्षभित्र छत्रकोट गाउँपालिकामा कसले कुन क्षेत्रमा संभावना देख्यो र त्यसको सञ्चालनको अवस्था के छ ?
पब्लिक लुम्बिनी युनाईटेड हस्पिटल प्रा.लि.
गाउँपालिकाको वडा नं ५ खज्र्यागमा सञ्चालनमा आएको यो अस्पताल यस क्षेत्रकै सबैभन्दा ठुलो अस्पताल हो । अघिल्लो वर्षदेखी सेवा सुभारम्भ गरेको यो अस्पतालमा ७ करोड बढि लगानी गरिएको छ । लुम्बिनी युनाईटेड अस्पताल पाल्पा र यहाँका स्थानिय मिलेर बनाएको संस्थाको संयुक्त लगानीमा सञ्चालित यस अस्पतालले बिशेषज्ञ सेवा दिएर यहाँका नागरिकलाई सामान्य उपचारका लागी तानसेन वा रुपन्देही पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै सेवा संगै व्यवसायीक कारोवारमा पनी सफलता प्राप्त गरिरहेको छ । यसकोे नेतृत्व वडा नं ५ निवासी कमल पाण्डे सरोजले गरिरहनुभएको छ ।
श्रृगेश्वर आयल स्टोर
छत्रकोट गाउँपालिकाको वडा नं ३ मा रहेको श्रृंगेश्वर आयल स्टोर गाउँपालिकाकै पहिलो र एकमात्र आयल स्टोर हो । यो स्टोर खुल्नुभन्दा पहिले यहाँका नागरिकले तेल भर्न पालिका बाहिर पुग्नुपथ्र्यो भने बोतलमा भरिएको कम परिमाणको तेल धेरै मुल्यमा भर्नुपर्ने बाध्यता थियो । यसको स्थापना र संचालनले छत्रकोट संगै रिडि तम्घास सडकमा यात्रा गर्ने जो कोहिले सेवा पाईरहेका छन् । वडा नं ४ निवासी डिलाराम न्यौपानेले कुल ४ करोड लगानीमा यो स्टोर सञ्चालन गर्नुभएको हो । यो एकल लगानीमा सञ्चालित गाउँपलिका भरमै ठुलो व्यवसाय हो ।
कोटडाँडा खिल्ली भिल्ला रिसोर्ट
गाउँपालिकाको वडा नं ३ चोयगामा रहेको कोटडाँडा खिल्ली भिल्ला रिसोर्ट यहाँको अर्को ठुलो लगानीमा निर्मित व्यवसाय हो । करिव १ करोड लगानीमा वडा नं ३ चोयगा निवासी गोपाल टण्डनले निर्माण गर्नुभएको उक्त रिसोर्ट हाल आंसिक रुपमा सञ्चालनमा रहेको छ । गाउँपालिकामा आउने पर्यटक बस्न सुबिधा सम्पन्न होटलको अभाव रहेको अवस्थामा निर्मित यस रिसोर्टले यहाँको पर्यटन व्यवसायको प्रतिनिधित्व गरेको छ । गत वर्ष देखी सुरुगरिएको रिसोर्टको सञ्चालन कृष्ण टण्डनले गरिरहनुभएको छ । यसको डिजाईका कारण पनी यो यस क्षेत्रमा चर्चित छ ।
गाउँले ग्रुप अफ ईन्डस्ट्रिज प्रा.लि
गाउँले ग्रुप अफ ईन्डस्ट्रिज प्रा.लि छत्रकोट गाउँपालिका ४ मा अवस्थित उत्पादन र प्रशोधनको क्षेत्रमा काम गर्ने कम्पनी हो । कुल लगानी १ करोड रहेको यो कम्पनीले ३ सय रोपनीमा उँखु खेती गरिरहेको छ भने उद्योगबाट यो बर्ष हालसम्म ८७ लाखको खुदो गुड उँखु बिक्रि गरिसकेको छ । ३ जना युवा मिलेर सुरु गरेको यो कम्पनीको नेतृत्व वडा नं ४ दिगाम कै रामकृष्ण न्यौपानेले गर्नुभएको छ ।
पैंचो नमुना कृर्षि उत्पादन केन्द्र
पैंचो पसल प्रालिले सुरु गरेको पैंचो नमुना लार्ज डेमोस्ट्रेसन प्रोजेक्ट कृर्षि क्षेत्रको प्रतिनिधित्व गर्ने अर्को बिशेष परियोजना हो । लगानीका हिसावले सुरुमै जम्मा ३५ लाख रुपैंया लगानीबाट सुरु गरिएको यो प्रोजेक्ट कृषि क्षेत्रमा उत्पादनमा गरिएको पहिलो लगानी हो । यो प्रोजेक्ट वडा नं ५ मा सञ्चालनमा छ भने ५५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेको छ । लगानीका हिसावले सानो भएपनी यो प्रोजेक्ट यहाँ यसकारण उल्लेख गरिएको छ कि यो यस्तो प्रोजेक्ट हो जहाँ पुगेर जो सुकैले कृर्षि संम्बन्धी बिषय निशुल्क सिक्न समेत पाउदछ । उत्पादनका साथै यो पाठशाला पनी हो ।
यि बाहेक निर्माणका क्षेत्रमा यहाँ उल्लेख गरिएको भन्दा ठुला लगानी पनि निजि क्षेत्रले गरेका छन भने कृर्षि, पशुपालन, उत्पादन, निर्माण लगायतका क्षेत्रमा पनी माथी उल्लेख गरिए भन्दा धेरै लगानी पालिका भित्र निजि क्षेत्रले गरेका छन् । यहाँ हामीलाई हाल सम्म जानकारीमा रहेका व्यवसायलाई मात्र उल्लेख गरिएको छ । सम्भावना केहि छैन भन्नेकुरा सत्य होईन बरु यहाँ प्रचुर संभावना लुकेको छ भन्नेकुराको यो उदाहरण हो ।