
भुवन भुसाल, गुल्मी । यो देश समाजवाद उन्मुख छ, देशमा साँचो अर्थमा समाजवाद आउँदै छ भनेर भाषण गरेको हामीले सुनिरहेकै छौं । तर गुल्मी छत्रकोट ५ कि रामकुमारी जोगीकुँवरको घरमा ६ महिना पछि आज बत्ती बल्यो ।
छत्रकोटकि रामकुमारी जोगीकुँवरको घरमा आफू नभएका बेला चट्याङ्ग पर्यो, विद्युतको सबै संरचना ध्वस्त बनायो, घरमा एक्लै साहारा कोहि थिएन, सुन्ने र सहयोग गर्ने पनि ती वृद्ध आमाले कोहि भेट्नुभएको थिएन । घामको बाहेक अरु उज्यालो आमाले नदेखेको ६ महिना भएको थियो ।
छत्रकोट गाउँपालिका वडा नं ४ का पुर्व वडा अध्यक्ष डिलाराम न्यौपानेको आज जन्मदिन । प्रत्येक जन्मदिन होस वा अरु कुनै खुशीको पल गरिब दुखी असहायलाई सहयोग गरेर उत्सव मनाउने न्यौपानेले यो जन्मदिनमा ६ महिना देखि अध्यारोमा बस्न बाध्य उनै जोगीकुँवर आमाको घरमा बत्ती बालिदिएर, अत्यावश्यक सामाग्री प्रदान गरेर जन्मदिन मनाउनुभएको छ ।
न्यौपाने जन्मदिनको अवसर पारेर बिजुली बत्ती जोड्ने ब्यक्ती र अत्यावस्यक सामाग्री लिएर पुगेको देखेपछी एक्लि आमा ले भन्नुभयो “भगवान कुनै न कुनै रुपमा आउँछन भनेको सुनेको थिएँ, आज हो रहेछ भन्ने लाग्यो, बाबुको जय जय होस” ।
“म आफै सामान्य परिवार बाट संघर्ष गरेर यो अवस्था सम्म आईपुगेको हुँ, दुख के हो मलाई राम्रो संग थाहा छ, यस्ता खास दिनमा फजुल खर्च गर्नुभन्दा यस्तै असहायलाई सहयोग गरौं भन्ने सोंचले आज यहाँ आएको हुँ” सहयोगको सामाग्री हस्तान्तरण गर्दै न्यौपानेले भन्नुभयो ।
केही सामाजिक व्यक्तिले आमाको दुखको बारेमा बताएपछी आफुले जन्मदिनको अवसर पारेर बत्ती बाल्ने व्यवस्था र अत्यावस्यक सामाग्रीको सहयोग गरेको बताउनुभयो । न्यौपानेले कुनै बिशेष दिनमा फजुल खर्च नगरेर नसक्नेलाई सहयोग गर्न सके वास्तविक समाजवाद हुने बताउनुभयो । न्यौपाने नेकपा एमालेका जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।