भुवन भुसाल, गुल्मी । रक्तअल्पता भनेको शरिरमा रगतको कमी हुनु हो । शरिरमा भएको रगतमा सामान्य भन्दा पनी थोरै राता रक्तकोष भएमा रक्तअल्पता हुन्छ । रक्तअल्पता भयोभने शारीरिक र मानसिक विकाशमा बाधा पुग्दछ र रक्तअल्पता भयोभने मृत्युपनी हुन सक्दछ । नेपालका ४० प्रतिशत भन्दा बढि किशोरीहरुमा रक्तअल्पताको समस्या छ । खासगरी शरिरमा पोषणको कमीका कारण मानिसमा रक्तअल्पता हुने गर्दछ । किशोरी अवस्थामा नै बिवाह गरि गर्भवती हँुदा, पत्रु खानाको प्रयोग, न्युन गुणस्तरिय खाना, महिनावारी चक्रको गडवडि, लगायतका कारण किशोरावस्थामा रक्तअल्पताको जोखिम बढ्दो छ ।
गुल्मीको छत्रकोट गाउँपालिकामा गरिएको एक कार्यक्रममा रक्तअल्पता, यसको अवस्था र रोकथामका प्रयासबारे चर्चा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीकी प्रमुख पुष्पा थापाले खानपानकै कारण रक्तअल्पताको समस्या बढिरहेको बताउनु भयो । खासगरी ग्रामिण भेगमा उत्पादन हुने जौ, फापर, कोदो, मकै, हरियो मौसम अनुसारका तरकारी र फलफुलको सन्तुलित प्रयोग गर्न सके यो समस्या आफै समाधान भएर जाने बताउनुभयो ।
जनस्वास्थ्य अधिकृत पशुपती आचार्यले बिद्यालयको १ सय मिटर वरपर जंकफुड निषेधित क्षेत्र घोषणा गर्नुपर्ने, किशोरीहरुलाई फोलिक एसिड र आईरन चक्की सेवन गराउँदा यसको फाईदाका बारेमा बुझाउन सक्नुपर्ने बताउनुभयो ।
छत्रकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले राष्ट्रिय तथ्यांकमा ४० प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या रहेपनी छत्रकोट गाउँपालिकामा गरिएको नमुना परिक्षणमा २० प्रतिशत किशोरीमा यो समस्या रहेको र त्यसमा पनी १९ प्रतिशतमा कम रहेको र १ प्रतिशतमा मात्र अतिकम भेटिएकाले चिकित्सकको निगरानीमा राखिएको बताउनुभयो । पोख्रेलका अनुसार गाउँपालिकाका १ हजार २ सय १४ जनाको रक्तपरिक्षण गरिएकोमा अतिकम ९ जि/डिएल भन्दा कम ६ जना, ९ देखी १२ जि/डिएल भएका २ सय ३६ जना, १२ देखी १६ जि/डिएल भएका ९ सय ६८ जना र १६ जि/डिएल भन्दा बढि ४ जना रहेको पाईएको छ ।
यसको रोकथामका लागी बिद्यालयमा र बाहिर रहेका किशोरीहरुलाई महिनामा २ पटक र वर्षमा २६ पटक आईरन चक्की शिक्षकको निगरानीमा खुवाउने व्यवस्था गरिएको छ । छत्रकोट गाउँपालिकाले गाउँपालिकाका बिद्यालयका चक्की खुवाउने फोकल पर्सन र स्वास्थ्य संस्था प्रमुख संग अन्तरकृया गर्दै प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यक्रममा सहभागी शिक्षकहरुले एसइईको परिक्षा दिएर घरमा रहेका किशोरीलाई छुटाउन नहुने, यसको महत्व बुझाउन साथी शिक्षा कार्यक्रमलाई जोड दिनुपर्ने लगायतका सुझाव समेत व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सिअहेव सपना टण्डनले गर्नुभएको थियो ।