चन्द्रकोट गाउँपालिकाले टिमुर खेतीका लागी निशुल्क बिरुवा वितरण गर्दै

भुवन भुसाल, गुल्मी । चन्द्रकोट गाउँपालिकाले टिमुर खेती बिस्तारका लागी निशुल्क बिरुवा वितरण गर्ने भएको छ । गाउँपालिकाले डिभिजन वन कार्यालय गुल्मी संगको समन्वयमा टिमुर खेती बिस्तारको योजना ल्याएको हो ।

गाउँपालिकाले बुधवार एक सार्वजनिक सुचना जारी गर्दै टिमुर खेती गर्न चाहाने किसानलाई आवेदन दिन आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले हस्ताक्षर गर्नुभएको ७ दिने सुचनामा कृषक, कृषि समुह, निजि उद्यमी, सहकारी संस्थाहरुलाई तोकिएको कागजात सहित आवेदन माग गरिएको छ ।

टिमुर १२ सय मिटर देखी २५ सय मिटरको उचाईमा फल्छ । आयुर्वेदिक प्रणाली अनुसार यसले वायुशमन गर्ने, दाँत दुखेको निको गर्ने, ज्वरो निको पार्ने, अजिर्ण र हैजा लगायतका रोग निको पार्ने काम गर्दछ । यसको मुल्य काँचोको ३ सय रुपैंया प्रतिकिलो र सुकाएको १ हजार २ सय रुपैंया प्रतिकिलो थोक मुल्यमा बिक्रि हुने भएकाले पछिल्लो समय यसको खेतीमा आर्कषण बढ्दो छ ।

गाउँपालिकामा व्यवसायीक नभएपनी सबैजसो किसानका पाखा बारीमा घरलाई चाहिने टिमुरका बोट रहेको गाउँपालिका अध्यक्ष युवराज केशीले बताउनुभयो । “टिमुर हाल पालिकामा व्यवसायिक खेती नभएपनी प्रशस्त खेती योग्य जमिन छ, यहाँका पाखोबारी टिमुर खेतीका लागी योग्य भएकाले थोरै श्रमले मनग्य आम्दानी हुने टिमुर खेती बिस्तारको योजना अगाडि सारेका हौ” गाउँपालिका अध्यक्ष युवराज केशीले भन्नुभयो । गाउँपालिकाले आगामी वर्ष किसानका उत्पादन खरिद गर्ने गरि निति कार्यक्रम र बजेटको समेत व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?