
भुवन भुसाल, गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीले आगामी आर्थिक वर्षका लागी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागी कुल ५५ करोड ३६ लाख ८७ हजार ५ सय २३ रुपैयाँको बजेट आज सार्वजनिक गरेको हो ।
गाउँसभाको १८ औ अधिवेसनमा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले आगामी आर्थिक वर्षका लागी अनुमानित आय र व्ययको बिवरण प्रस्तुत गर्नुभएको हो । संघिय सरकारबाट प्राप्त हुने ४९ करोड, ८६ लाख ९० हजार ९ सय ४६ रुपैंया, लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने २ करोड ७८ लाख ५९ हजार ८ सय १० रुपैंया र आन्तरिक आम्दानी ७० लाख र चालु आर्थिक वर्षको बचत हुने अनुमानित रकम २ करोड १३ लाख ७ हजार २ सय १७ गरि ५५ करोड बढिको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाले आज सार्वजनिक गरेको बजेटमा सबैभन्दा धेरै पुर्वाधारमा छुट्याएको छ । पुर्वाधार तर्फ ६ करोड ७८ लाख ५५ हजार बिनियोजन गरेको छत्रकोटले शिक्षामा १ करोड ८५ लाख ३ हजार, स्वास्थ्यमा १ करोड ७० लाख ५६ हजार ८ सय ६८ रुपैंयाँ, कृर्षि विकाश तर्फ १ करोड १० लाख, पशु विकाश तर्फ २३ लाख ५० हजार, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी तथा वित्तिय सेवा तर्फ ८१ लाख, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ १९ लाख, सुशासन तथा संस्थागत विकाश र प्रशासनिक खर्च तर्फ ५ करोड ८२ लाख ४२ हजार १ सय ५५ रुपैंयाँ बजेट बिनियोजन गरेको छ । त्यस्तै पालिकाले विभिन्न कार्यक्रमका शिर्षकहरुमा १ करोड ७४ लाख ९० हजार रुपैंयाँ विनियोजन गरेको छ ।
पालिकाले आगामी आर्थिक वर्षको बजेट मार्फत कृर्षि र पशुपालन, स्वास्थ्य र शिक्षालाई प्राथामिकता दिएको छ । गाउँपालिकाले आगामी बजेटमा उत्पादन र उत्पादकत्व वृद्धि मार्फत आर्थिक बिकाश गर्नु मुख्य उद्धेस्य रहेको जनाएको छ । त्यस्तै बजेटका उद्धेस्यहरुमा लगानी मैत्री वातावरणको सृजना गरि उद्योग र व्यवसायको प्रवद्र्धन मार्फत रोजगारी सिर्जना गर्नु, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणात्मक विकास गर्नृु, गुणस्तरिय र दिगो पुर्वाधार विकास गर्नु, जनमैत्री सेवा प्रवाह र सुशासनयुक्त गाउँपालिका निर्माण गर्नु उल्लेख गरेको छ ।
गाउँसभाको आजको बैठकमा न्यायिक समिति सदस्य नारायण रेश्मीले न्यायिक समितिले यो आर्थिक वर्षको हाल सम्म गरेको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । गाउँपालिकाको न्यायिक समितिले १७ वटा मुद्धा दर्ता भएको र ९ वटा मुद्धा मेलमिलापद्धारा मिलापत्र भएको एउटा सम्पर्कमा नआएको, एउटा मुद्धा जिल्ला अदालत गएको, २ वटा आफ्नै अडानमा रहेको र ४ वटा मुद्धा हेर्दाहेर्दैमा रहेको बताउनुभयो ।
राजश्व परामर्श समिति सदस्य कमला ज्ञवालीले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधयेक सभा समक्ष प्रस्तुत गर्नुभएको छ । तेजकान्त अर्यालले हाल सम्मको व्ययको बिवरण प्रस्तुत गर्नुभएको छ । लेखा समिति संयोजक शेर वहादुर राकशकोटीले महालेखा परिक्षकको कार्यालयले औंलाएका बेरुजु फछयौट सम्बन्धी प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुभएको छ । सभामा आज नै पालिका उपाध्यक्ष ज्ञवालीले स्थानिय सञ्चित कोषबाट खर्च गर्नबनेको विनियोजन बिधेयक सभा समक्ष प्रस्तुत गर्नुभएको थियो । अहिले बजेट माथी छलफलका लागी समय दिईएको छ । बैठक जारी छ ।