भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले ८ जना महिलालाई उद्यम गर्न सक्षम बनाएको छ । गाउँपालिकाको वडा नं ४ दिगाममा सञ्चालित होजियारी तालिमबाट उनिहरु व्यवसायका लागी सक्षम भएका हुन ।
एक महिना सम्म सञ्चालित तालिमबाट यहाँका ८ जना महिलाहरुले मेसिनबाट धागोको थरिथरिका स्विटर बुन्न सिकेका हुन । सोमबार तालिमको समापन समारोहमा बोल्दै सहभागीहरुले एक महिना सम्म सिकेको सिपलाई व्यवहारमा लागु गर्दै पालिकाले श्रृङ्गामा बनाएको कोषेली घरमा चाँडै नै सामुहिक व्यवसाय सुुरु गर्ने बताएका छन् ।
तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष राम प्र्रसाद पाण्डेयले सिकेको सिपले आयआर्जन नदिए सम्म त्यसको उपलब्धी नहुने भएकाले व्यवसायिक रुपमा लैजान सुझाब दिनुभयो । व्यवसायीक रुपमा उद्योग संचालन गर्दा आईपर्ने कठिनाईको समाधान गर्न पालिका तयार रहेको भन्दै उहाँले अर्थोपार्जन हुनेगरि काम गर्न प्रेरणा दिनुभयो ।
महिला लक्षित कार्यक्रम अन्तर्गतको तालिम समापन समारोहमा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन, वडा नं ४ का वडा अध्यक्ष गुणाखर ज्ञवाली, संस्थापक वडा अध्यक्ष डिलाराम न्यौपाने, कार्यपालिका सदस्यहरु भगवती न्यौपाने, साबित्रा बि.क. वडा सदस्यहरु थानेस्वर पन्थ, केशवराज कंडेल, गाउँपालिकाका लेखापाल प्रेमलाल भण्डारी, तालिमकी प्रशिक्षक मेनुका पौडेल लगायतको सहभागीता रहेको थियो ।
तालिममा सहभागीलाई गाउँपालिकाले मेसिन उपलब्ध गराएको छ भने समापन समारोहमा सहभागीले अतिथिहरुलाई आफुले बनाएका स्विटर मायाँको चिनोका रुपमा प्रदान गरेका गाउँपालिकाकी उद्यम विकास सहजकर्ता यमुना अधिकारीले जानकारी दिनुभयो ।