भुवन भुसाल, गुल्मी । यो संसारमा अधिकांश मानिस आफ्ना लागी मात्रै जन्मिन्छन्, आफ्नै लागी मात्र गर्दछन् र गुमनाम हुन्छन् । त्यस्ता व्यक्तिहरु जन्मनु र मर्नुलाई समाजले पनि त्यत्ति महत्वका साथ हेर्दैन जो मैं खाउँ, मैं लाउँ, सुख सयल वा मोज म गरुँ प्रवृत्तिका हुन्छन् ।
यहिँ समाजमा यस्ता व्यक्ति पनी छन जसको काम हेर्दा लाग्छ उनिहरुको जन्म नै समाजका लागी भएको हो । त्यस्तै उदाहरणीय पात्र हुनुहुन्छ रुरुक्षेत्र गाउँपालिका १ रिडिका सुशिल श्रेष्ठ । पेशाले यातायात व्यवसायी उहाँ पदले वडा सदस्य हुनुहुन्छ । सानैदेखी सामाजिक भावना राख्ने उहाँ कलाकारितामा पनी अव्वल हुनुहुन्छ । तर वहाँको नाम यहाँ यो सबै भएकाले उल्लेख गरिएको भने होईन ।
उहाँले हालै एउटा निर्णय गर्नुभएको छ, जुन यो क्षेत्रका थाहा पाएका सबैले चर्चा गरिरहेका छन् । रिडिमा जन्मिएर सोहि वडाको भट्कुवालाई कर्म थलो बनाउनुभएका वहाँले भट्कुवा निवासी जो सुकैको अन्तिम संस्कारका लागी यातायात सेवा सौजन्य गर्ने घोषणा गर्नुभएको छ । रुरुक्षेत्र १ को भट्कुवा पालिकाकै बत्तिमुनीको अध्यारो जस्तै स्थान थियो । यातायातको सहज पहुँच नहुने त्यहाँका स्थानियले अहिले पनी निस्चित समयमा बाहेक सार्वजनिक यातायातको सेवा उपयोग गर्न पाउँदैनन् । सो स्थानका नागरिकको अन्तिम दाहसंस्कार गर्ने थलो कालिगण्डकीको किनार रिडि हो ।
“भट्कुवाबाट रिडि गाडि रिजर्व गर्दा करिब ५ हजार लाग्छ । सक्नेहरुलाई त योे रकम सामान्य लाग्ला गाउँमा खेती किसानी गर्नेहरुलाई यति पैसा निकाल्न पनी धौ धौ छ, त्यसैले समाजका लागी केहि त गरौं न भनेर यो निर्णय गरेको हुँ” श्रेष्ठले भन्नुभयो । वहाँले मलामी र दाउरा घाट सम्म लैजाने र घर फर्किनका लागी यातायात सेवा निशुल्क दिने घोषणा गरेको बताउनुभयो । त्यो स्थानका नागरिकलाई अब अन्तिम संस्कारमा श्रेष्ठले निशुल्क यातायात सेवा उपलब्ध गराउने भएपछि यहाँका सबैजसो भनिरहेका छन् जनप्रतिनिधी हुनु त सुशिल जस्तो ।