छत्रकोटको निति तथा कार्यक्रम प्रस्तुत, शिक्षा र स्वास्थ्य प्राथामिकतामा

छत्रकोट गाउँपालिका गुल्मीले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखेको छ । १८ औं गाउँसभाको पहिलो बैठकमा आज गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले प्रस्तुत गरेको निति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई अझै व्यवस्थित र गुणस्तरिय बनाउन बिभिन्न कार्यक्रम समेटिएका छन् ।

शिक्षकलाई प्रविधि मैत्री बनाउन एक शिक्षक एक ल्यापटप कार्यक्रम, टाढाका बिद्यार्थीलाई यातायातको व्यवस्था, बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यालयका प्रधानाध्यापकलाई सम्मान, उत्कृष्ट नतिजा दिने बिषयगत शिक्षकलाई सम्मान, गाउँपालिकाकै दिगाममा रहेको क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने बिद्यार्थिलाई पहिलो वर्षका लागी पुर्ण छात्रवृत्ति प्रदान गर्ने लगायतका बिषय निति तथा कार्यक्रममा समेटिएका छन् ।

गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रममा स्वास्थ्यका बिभिन्न कार्यक्रमको निरन्तरता र नयाँ कार्यक्रम थप गरिएको छ । लामो समय अनिर्णयको बन्दि बनेको १५ शैयाको अस्पताल निर्माणको थालनी, बन्दै गरेका स्वास्थ्य चौकी निर्माणको पुर्णता, डायलासिस गराईरहेका मृगौला रोगी, क्यान्सर रोगी, मुटुको गम्भिर रोगी, मेरुदण्डको पक्षघात भएका बिरामीलाई बिशेष सहयोग गर्ने लगायतका नयाँ कार्यक्रम निति तथा कार्यक्रममा समेटिएका छन् । निशुल्क रगत परिक्षण, रुपन्देहीमा उपचाररत बिरामीलाई निशुल्क रगत, मोतियाबिन्दुको निशुल्क शल्यकृया, सामुदायिक महिला स्वयम सेबिकाको प्रोत्साहन लगायतका लोकप्रिय र प्रभावकारी कार्यक्रमले आगामी वर्ष पनी निरन्तरता पाउने भएका छन् ।

यस बाहेक आगामी आर्थिक वर्षदेखी घर बनाउँदा अनिवार्य नक्सा पास गर्नुपर्ने, व्यवसाय दर्ता र नबिकरणलाई कडाईका साथ लागु गरिने, दौंघाको चुन ढुंगा खानीको अध्यय्न गर्ने, पालिकामा पर्यटन प्रवद्र्धन गर्न “रुरु रेसुङ्गाको धार्मिक आस, छत्रकोटमा बसौं बास” भन्ने नारा साकार गर्न पल्लिकोटमा होमस्टे संचालन गर्ने, नयाँ र सुबिधा सम्पन्न होटल खोल्न प्रोत्साहन गर्ने, पर्यावरण जोगाउन एक टोल, एक रिचार्ज पोखरी खन्ने लगायतका हरेक पक्ष समेट्ने गरि छत्रकोटले निति तथा कायक्रम बनाएको छ ।

निति तथा कार्यक्रम निर्माण गर्नु अघि छत्रकोटले यहाँका सबै पक्ष संग सुझाब संकलन समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?