छत्रकोटमा मनसुनजन्य बिपद न्युनिकरणको पुर्वतयारी, आकाशे पानी राख्ने रिचार्ज पोखरी खनिंदै

भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले मनसुनजन्य बिपद न्युनिकरण गर्न पुर्व तयारी स्वरुप रिचार्ज पोखरी खन्न सुरुगरेको छ । बर्खाको पानी नाली र सडकबाट बगेर जाँदा बाढि पहिरो भुक्षय लगायतका जोखिम हुने भएकाले आकासको पानी बग्न नदिन यसो गरिएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताउनुभयो ।

बिकाश निर्माणका काम गर्दा पुराना अधिकांस पोखरी पुरिएका छन् । अहिले बर्खाको बेला पर्ने सबैजसो पानी नाली र खोल्साबाट बगेर जाँदा खानेपानीका पुराना मुहान समेत सुक्न लागेकाले यस्ता पोखरीले मनसुनजन्य बिपतलाई कम गर्नुका साथै जमिनमा पानी रिचार्ज गर्ने भएकाले पानीका मुहान सुुक्न नदिई हिंउदमा पानीको सहजता हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताउनुभयो ।

अहिले छत्रकोट गाउँपालिकाको वडा नं ३ भालुपानीमा रहेको पुरानो पोखरी नजिक रिचार्ज पोखरी खन्न सुुरु गरिएको छ । बर्खामा यहाँबाट जमिनले सोस्ने पानीका कारण काउलेको मथुरे पँधेरामा मुल फुट्ने गरेको पाकापुस्ताको भनाई थियो । नजिकैको पोखरी सौन्दर्य र धार्मिक पोखरीमा रुपान्तरण गरिएकाले अब भलबाट बग्ने पानी रिचार्ज पोखरीमा राखिने छ ।

रिचार्ज पोखरी खनेर बग्ने भललाई कम गरि भिरालो जमिनलाई पहिरो जानबाट पुर्व सुरक्षा गरेर पालिकाले हेर्दा सामान्य तर अर्थपुर्ण काम गरेको स्थानिय रामु पन्थले बताउनुभयो । मौषम पुर्वानुमान महाशाखाले यो बर्ष साविक भन्दा ३५ देखी ५० प्रतिशत धेरै पानी पर्ने बताएकाले जोखिम रहेका स्थानको बारेमा पालिकालाई जानकारी गराउन पनी अधिकृत पुनले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?