भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले आफ्नै पाठ्यक्रम बनाएर लागू गरेको छ । २ बर्षको लगातारको मेहनतले तयार पारिएको हाम्रो छत्रकोट नामक पाठ्यक्रम सोमबार एक औपचारिक समारोहका बिच गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले सार्वजनिक गर्नुभयो ।
पाठ्यक्रम सार्वजनिक गर्दै अध्यक्ष पाण्डेयले तयारी गर्ने समितीमा बसेर काम गर्ने संयोजक उत्तर कुमार पराजुली, सदस्यहरु डा नारायण प्रसाद पन्थ र डा टंक प्रसाद पन्थ लगायत बिषय शिक्षकहरूलाई धन्यवाद दिनुभयो । “यहाँहरुको अनवरत मेहनतले एउटा अपेक्षित पाठ्यक्रम तयार भएको छ, अब पाठ्यपुस्तक निर्माण गर्दै समयानुकूल परिमार्जनको काममा पनि तपाईंको साथ आवस्यक छ” अध्यक्ष पान्डेयले भन्नुभयो ।
उपाध्यक्ष साबित्रा ज्ञवालीले पाठ्यक्रम कक्षा कोठामा सहि कार्यान्वयन होस भन्ने कामना गर्नुभयो । सोही समारोहका बीच गाउँपालिकाका उत्कृष्ट बिद्यार्थी सम्मान समेत गरिएको छ । गत शैक्षिकसत्रको आधारभुत तह कक्षा उतिर्ण परीक्षा (कक्षा ८), माध्यमिक शिक्षा परीक्षा कक्षा ( कक्षा १० ) , माध्यमिक शिक्षा उतिर्ण परीक्षा ( कक्षा १२) मा ३.२ जिपिए भन्दा माथी अंक ल्याउने ९९ जना बिद्यार्थीलाई सम्मान समेत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका पुर्व अध्यक्ष मधुकृष्ण पन्थले आफ्नो रुचि अनुसारको बाटो पहिल्याएर अगाडि बढ्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले संबिधान प्रदत्त अधिकारको उपयोग गर्दै यो पाठ्यक्रम लागू गरिएको र अब तत्काल पाठ्यपुस्तक निर्माणको काम सुरु गरिने बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधिहरु, कर्मचारीहरु, पाठ्यक्रम निर्माण प्राविधिक समिति सदस्यहरु, शिक्षक, बिद्यार्थी, सरोकारवाला लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पालिकाका शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गर्नुभएको थियो । पाठ्यक्रम लागू भएसंगै अब छत्रकोटका कक्षा १ देखी ८ सम्मका बिद्यार्थीले आफ्नो ठाउँमा रहेका एतिहाँसिक स्थान, चाडपर्व, रितिरिवाज, चालचलन, पेशा व्यवसाय, इतिहास देखि हाल सम्मको बिकाशक्रम, सम्भावना र चुनौती लगायतका बिषय कक्षा कोठामा पढ्न पाउने भएका छन ।