भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरिएको छ । १६ दिन सम्म गाउँपालिकाका विभिन्न स्थानहरुमा बिभिद कार्यक्रम गरेर समापन गर्ने गरिएकोमा यो बर्ष छत्रकोट गाउँपालिकामा उल्लेख्य कार्यक्रम भने आयोजना गरिएन । सोही समयमा पालिकामा घुम्ती शिविर संचालन गरिएको र धेरै जस्तो कर्मचारी र जनप्रतिनिधि त्यसैमा व्यस्त भएकाले उल्लेख गर्न लायक कार्यक्रम नगरिएको महिला तथा बालबालिका शाखा प्रमुख सीता थापा बुढाथोकीले बताउनुभयो ।
घुम्ती शिविरकै समयमा पनि ब्यानर टाँग्ने, महिला हिंसाको बारेमा जानकारी र कानुनी उपचारको बिषयमा चर्चा भने गरिएको वडा नं ६ का वडा अध्यक्ष नारायण रेश्मीले बताउनुभयो । १६ दिने अभियानको अन्तिम दिन आज गाउँपालिकाको सभाहलमा एक अन्तरक्रिया नामक कार्यक्रम गरियो तर भाषण बाहेक फ्लोर खुला गरेर अन्तरक्रिया भने गरिएन । कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले लिंगको आधारमा हुने हरेक हिंसाको विरुद्ध छत्रकोट गाउँपालिका रहेको र हिंसामा परे तत्काल गाउँपालिकाको न्यायीक निकाय वा प्रहरीमा खबर गर्न आग्रह गर्नुभयो ।
प्रमुख अतिथी एवम् पुर्व गाउँपालिका उपाध्यक्ष एवं नेकपा एमालेकी नेता नर्मदा भण्डारीले लैंगिक हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले हिंसा नगर्न, नसहन र गरेको देखे प्रतिकारमा उत्रन आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले प्रस्तुतिकरण राख्दै अभियानको ईतिहास, लैंगिक हिंसाको हालको अवस्थाको बारेमा बिस्तृत जानकारी राख्दै हिंसा अन्त्य गर्न चाल्नु पर्ने कदम र हिंसामा पर्दा लिने कानुनी उपचारको बारेमा जानकारी राख्नुभएको थियो । श्रब्य दृष्य सामाग्रीको प्रस्तुतीकरण गर्दै अधिकृत पुनले हिंसा नसहन सबैमा आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा जिल्ला बिकास समिति गुल्मीकी पुर्व सदस्य गंगा पन्थ, नेकपा एमाले छत्रकोटका सचीव यज्ञ पाण्डे, वडा अध्यक्षहरु नरेन्द्र बहादुर पल्ली, गुणाखर ज्ञवाली,नारायण रेश्मी, पुर्व वडा अध्यक्ष डिलाराम न्यौपाने, शिक्षा समिति सदस्य होमनाथ कंडेल, भुवन टण्डन लगायतको समेत सहभागीता थियो ।
केही महिला जनप्रतिनिधी द्वारा कार्यक्रम बहिस्कार
लैंगिक हिंसा विरुद्धको कर्मकाण्डि कार्यक्रम मात्रै गरेको भन्दै केही महिला जनप्रतिनिधिले भने बहिस्कार गरेका छन । खास लैंगिक बिभेदमा पर्ने ग्रामीण भेगका महिला, बालबालिकाको सहभागीता बिना गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधि बसेर गरिने कार्यक्रमको उपयोगिता नहुने भन्दै उनिहरुले बहिस्कार गरेका हुन ।
वडा सदस्यहरु उर्मिला आचार्य नेपाली, प्रीयंका सुनार, दिपा भण्डारी, अञ्जना परियार, सपना पचभैयाले कार्यक्रम बहिस्कार गर्नुभएको हो । “हामीलाई ११ बजे भन्दै बोलाउने जनप्रतिनिधि पार्टिको कार्यक्रममा जाने, समयको ख्याल नगरी साढे १ बजे सम्म सुरु नगर्ने, कार्यक्रम हुने दिन बिहान ९ बजे मात्र जानकारी गराउने, आफुहरु नेकपा एमालेको भात्री संगठन अनेमसंघको कार्यक्रममा गएर अन्तिममा पार्टिका कार्यकर्ता ल्याएर कार्यक्रम गर्ने गरेकाले कार्यक्रम बहिस्कार गर्न बाध्य भएका हौ” वडा सदस्य उर्मिला आचार्य नेपालीले भन्नुभयो । गाउँपालिका उपाध्यक्ष ज्ञवालीले महिलाहरुको कार्यक्रमलाई कहिल्यै व्यवस्थित र भेदभाव रहित बनाउन नसकेको वहाँहरुको आरोप छ ।
उपाध्यक्ष ज्ञवालीले भने छत्रकोट गाउँपालिकाको महिला हेर्ने शाखा प्रमुखलाई निमन्त्रणा गर्ने व्यवस्था गर्न आग्रह गरेको र आफुले यो कार्यक्रमलाई अझै व्यवस्थित गर्ने चाहाना भएपनी त्यसो हुन नसकेको बताउनुभयो । सबैलाई खबर गर्न आफुले गरेको निर्देशन अनुसार नभएकाले आफैले फोन गरेर बोलाएको बताउँदै आफुले नियत राखेर त्यसो नगरेको बताउनुभयो ।