भुवन भुसाल, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले वडा नं २ ग्वादी सम्मको सडक पिच गर्ने कामको सुरुवात गरेको छ । आज चौतारामा एक कार्यक्रमको आयोजना गरि रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सडकको शिलान्यास गर्नुभयो । वैदिक विधि पुर्वक पुजाआजा र ताम्रपत्र अनावरण गरि औपचारिक रुपमा सडक निर्माणको काम सुभारम्भ भएको छ ।
रुरुक्षेत्र गाउँपालिकाको १ करोड ३९ लाख र लुम्बिनी प्रदेश सरकारको १ करोड लागतमा सडक पिच हुनेछ । निर्माणको जिम्मा एम एस अर्जुन चन्द्रकोट जे भिले पाएको छ । १४ सय ३० मिटर सडक पिच नेटा देखि ग्वादी देउराली सम्म ग्राबेल सहित स्तरउन्नतीको काम हुनेछ । आगामी असार ५ गते सम्मको म्याद लिएर निर्माण कम्पनीले काम सुरु गरेको छ ।
सडकको शिलान्यास गर्दै अध्यक्ष ज्ञवालीले गुणस्तर र समयमा सम्झौता नहुने बताउँदै निर्धारित समयमा गुणस्तरीय काम गरेर सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । अध्यक्ष ज्ञवालीले स्थानियलाई पनि जागरुक बनेर नियमित अनुगमन गर्न र काम कमसल भए पालिकालाई जानकारी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनादेवि गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, वडा अध्यक्षहरु मोती श्रेष्ठ, शेषकान्त पौड्याल, घनस्याम अर्याल, जनप्रतिनिधिहरु,राजनीतिक दलका प्रतिनिधि समाजसेवी स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।