भुवन भुसाल, गुल्मी । कुनै समय थियो स्वास्थ्य संस्थामा जाँच गर्न पुगेका नागरिक विद्युत नभएको भनेर घन्टौ कुर्नु पर्थ्यो । अझै कहिले त ल्याब रिपोर्टको पर्खाईमा रहेका नागरिकले २/३ दिन पछि सम्म पनि रिपोर्ट पाउदैन थिए विद्युत आपूर्ति नियमित नहुँदा ।
तर अहिले छत्रकोटको वडा नं १ को हुँगा र वडा नं २ को पल्लिकोट स्वास्थ्य चौकिमा झ्याप्पै बत्ती गएछ भनेपनी कुनै सेवा रोकिदैन । गत वर्ष रिन्युएवल वर्ल्ड युकेको आर्थिक एवम् प्राविधिक सहयोग र नवप्रभात युवा संघ गुल्मीको सामाजिक परिचालनमा सोलार र विभिन्न उपकरणको जडान गरिए पछि यहाँका नागरिकलाई सेवा प्रवाह गर्न सहज भएको छ ।
पल्लिकोट स्वास्थ्य चौकी प्रमुख भविकला पचभैयाका अनुसार पहिले ल्याब, डेलिभरी, प्रशासनिक, अनलाईन डाटा ईन्ट्री गर्ने काममा विद्युत अनियमितताले बेला बेला सताउथ्यो तर अहिले सोलार, डि फ्रीज, शुद्ध खानेपानीको जडान पछि पल्लिकोट स्वास्थ्य चौकिको रुपनै फेरिएको छ । पचभैयाले त्यहाँ ल्याव, डेलिभरी, प्रशासनिक काम, अनलाईन डाटा इन्ट्री गर्न समेत सहजता पुगेको बताउनुभयो ।
“पहिले पहिले आईस प्याक लिन वडा नं ४ को शृङ्गा पुग्नुपर्ने बाध्यता थियो, खोप लगाउने दिन खोप लिन फेरि शृङ्गा पुग्नु पर्थ्यो अहिले सार्है सहज भएको छ” हुँगा स्वास्थ्य चौकी ईन्चार्ज हेमा खप्तडिले भन्नुभयो ।
यहाँका २ स्वास्थ्यमा रिन्युएवल वर्ल्डले १.२ किलो वाटको सोलार सिस्टम, ६ सय वाट सोलार बाट नै पानी शुद्धीकरण गर्ने प्रविधि , ४ वटा धारा सहितको बालमैत्री धारा, १५० वाटको सोलार र सो बाट चल्ने १०० लिटरको डि फ्रीजको व्यवस्था गरेको रिन्युएवल वर्ल्डका ईन्जिनियर प्रकाश गुरुङ्गले बताउनुभयो । जडान गरिएका सामाग्रीको अनुगमन र त्यसको प्रभावकारिता बारे जानकारी लिंदै छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले जडित सामाग्रीले यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको भन्दै बाँकी ४ वटा वार्डमा पनि यस्तै सामाग्री सहितको सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो ।
स्वास्थ्यका लागि स्वच्छ उर्जा कार्यक्रमको तेस्रो संस्करण अन्तर्गत गुल्मी जिल्लाका ४ वटा स्वास्थ्य चौकीमा यो कार्यक्रम संचालन गरिएको नवप्रभात युवा संघका जिल्ला संयोजक धातानन्द भुसालले बताउनुभयो ।