भुवन भुसाल, गुल्मी । नेपाल रेडक्रस सोसाइटी गुल्मीले शनिवार अभिमुखिकरण कार्यक्रम छत्रकोट ४ दिगाममा संचालन गरेको छ । सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना अन्तर्गत एक दिने संस्थागत बिकास, गुणस्तरीय शिक्षा तथा प्रतिभा विकास सम्बन्धि अभिमुखिकरण कार्यक्रममा गुल्मीका ४ वटा स्थानीय तहको सहभागिता रहेको थियो ।
कार्यक्रममा छत्रकोट, गुल्मीदरबार, रुरुक्षेत्र गाउँपालिका र रेसुङ्गा नगरपालिकाका बिधालय बाट युवा तथा जुनियर रेडक्रसका अध्यक्ष एवम् शिक्षक नायकहरुको उपस्थिति थियो ।
नेपाल रेडक्रस सोसाइटी दिगाम उपशाखा प्रमुख रोमाकान्त पाण्डेको अध्यक्षतामा संचालित अभिमुखिकरण कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो ।
रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, कैलाश श्रेष्ठ , जिल्ला शाखा उपसभापति कृष्ण प्रसाद भण्डारी, छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी गुल्मीले अभियान संचालन गरेको भन्दै रेडक्रस गुल्मीका उपसभापति भण्डारीले बालबालिकाको क्षमता बिकासको अभियान अन्तर्गत यो कार्यक्रम संचालन गरिएको बताउनु भयो । भण्डारीले प्राथमिक तह देखिको बिधालय शिक्षा सुधार, बालमैत्री र बिद्यार्थी मैत्री बिधालय निर्माण, शिक्षकको शैली सुधार मुल उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि छत्रकोट गाउँपालिका अध्यक्ष पाण्डेयले यो कार्यक्रमले बिकराल बन्दै गएको नकारात्मकता हटाउन सकोस भन्ने शुभकामना दिनुभयो । पाण्डेयले मानव सेवामा रेडक्रस सधै एक कदम अगाडि रहेको बताउँदै गाउँपालिकाले रेडक्रस संग मिलेर काम गर्ने बताउनुभयो । वहाँले रुपन्देहीका रगतको आवस्यक रहेका छत्रकोटका बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने व्यवस्थाको लागि रुपन्देही रेडक्रस संग सम्झौता गरेर काम भैइरहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष ज्ञवालीले मानवता हराउँदै गएको समाजमा रेडक्रसका ७ सिद्धान्तलाई सहि आत्मसात गर्न सके मानवता प्रवर्द्धन हुने बताउनुभयो । एकले अर्कोलाई सहयोग गर्न रेडक्रसले सिकाएको बताउँदै बिपत्तिको समयमा रेडक्रसले गरेको काम प्रसंसनिय रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न बिधालय बाट सहभागी भएका बिद्यार्थीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए ।