गुल्मी जिल्ला प्रशासन कार्यालय दोस्रो पटक देशकै उत्कृष्ट  बन्यो 

जिल्ला प्रशासन कार्यालय गुल्मी दोस्रो पटक देशकै उत्कृष्ट प्रशासन कार्यालय बन्न सफल भएको छ । कार्यसम्पादन, सम्झौता र मूल्याङ्कनका आधारमा देशका ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय गुल्मीले यो वर्ष पनि उत्कृष्ट बन्न सफल भएको हो।
 कार्यसम्पादन मुल्यांकन मापन सूचकका लागि गृह मन्त्रालयले निम्न सूचकाङ्कको आधारमा गुल्मी प्रथम भएको मन्त्रालयबाट प्राप्त पत्रमा उल्लेख छ । सय पूर्णाङ्कमा गुल्मी जिल्ला प्रशासनले ९६.४४ अङ्क प्राप्त गरेर प्रथम भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताए ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा १४ सहसुचक अंकभार २९ मा २९ नै प्राप्त गरेको छ । शासकीय प्रबन्ध ४० सहसुचक ४४ अंकभारमा ४१.२ अङ्क प्राप्त गरेको छ । लागूऔंषध नियन्त्रणमा सहसुचक ५ अंकभार ५ मा ५ नै अङ्क प्राप्त गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहसुचक १० र अंकभार १० मा १० नै प्राप्त गरेको छ ।
मुआब्जा वितरण तथा विकास सहजीकरण सहसुचक ४ र अंकभार ५ मा ४.२५ अङ्क गरी १०० मा ९६.४४ अङ्क प्राप्त गरी देशमै प्रथम भएको गैरेले बताए । गुल्मीले पहिलो त्रैमासिक २४.५ पूर्णाङ्कमा २४.२ प्राप्त गरेको छ । दोस्रो त्रैमासिकमा १६.५ पूर्णङकमा १६.४ अङ्क प्राप्त गर्‍यो । तेस्रो त्रैमासिकमा १४.५ मा १४.२ र चौथो त्रैमासिकमा ३९.५ मा ३७.४ प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए । उनले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई प्रथम बनाउन सहयोग गर्ने बिशेषत सुरक्षा निकाय, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद व्यक्त गरे।
गुल्मी पछि कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्ला ९६.१३ प्रतिशत अङ्क ल्याएर दोस्रो बनेको छ । ९६.०० नम्बर ल्याई रुपन्देही जिल्ला प्रशासन तेस्रो भएको छ । ९५.८१ नम्बर ल्याई इलाम चौथो र ९५.३८ नम्बर ल्याई नवलपरासी पूर्व पाँचौँ र ९५.१३ नम्बर ल्याई रुकुम पूर्व छैठौँ नम्बरमा परेको छ । डडेलधुरा र काठमाडौं जिल्ला प्रशासन भने क्रमशः सातौँ र आठौँ नम्बरमा परेका छन्। सब भन्दा कम नम्बर ल्याउने ७७ औँ जिल्लामा सिराहा जिल्ला प्रशासन परेको छ । उसले ६१.५६ नम्बर पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?