उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले जनाएको छ। भारतिय सेनाका अनुसार, उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशितरूपमा बादल फाट्दा टिस्टा नदीमा बाढी आउदाँ २३ सैनिक बेपत्ता भएको र केही सवारी साधन डुबेको खबर छ । खोजी कार्य जारी रहेको भारतिय सेनाले जनाएको छ।
उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमा नजिक पर्छ । साथै ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा ठूलो हिमाल कञ्चनजङ्घालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ। चुङथाङ्ग बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिट माथि रहेको सेनाले बताएको छ।
भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडियोमा जङ्गली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखाइएको छ।