भुवन भुसाल, गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सार रिङ्गरोड कालोपत्रे गर्ने काम आजदेखी सुरु भएको छ । लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्केले आज कालोपत्रे हुँन लागेको सडकको शिलान्यास गर्नुभएको हो ।
रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार लुम्बिनी प्रदेश सरकारले १२ करोड ६ लाख ८३ हजार ३ सय २० रुपैयाँ रकम बिनियोजन गरेको थियो । निर्माण कम्पनी राजेश्वरी कन्ट्रक्सनले ८ करोड १७ लाख ५२ हजार ६ सय ६६ रुपैयाँमा ठेक्का सम्झौता गरेर काम सुरु गरेको छ । ४ हजार ९ सय मिटर सडक कालोपत्रे, २ सय मिटर आरसिसी ढलान गरेर काम सम्पन्न हुने अध्यक्ष ज्ञवालीले बताउनुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका अर्थ मन्त्री मास्केले समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्दै कामको गुणस्तरीयतामा ध्यान दिन पालिकालाई आग्रह गर्नुभयो । १८ महिना म्याद रहेको सम्झौताको काम आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने निर्माण व्यवसायी भागवत गिरिले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आगामी असार २० गते सम्म सडकको काम सकेर हस्तान्तरण गर्ने निर्माण व्यवसायी गिरिको प्रतिबद्धता पछि मन्त्री मास्केले काम सम्पन्न गरे बहुवर्षिय भएपनी यसै वर्ष सबै रकम भुक्तानी दिने वचन दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका पुर्व सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बिकासमा प्रतिस्पर्धा गर्न सुझाव दिनुभयो । रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले आफुले काममा मात्र बिश्वास गर्ने बताउँदै तोकेकै समयमा काम सम्पन्न गर्न निर्देशन समेत दिनुभयो । वहाँले आफुले गुणस्तरमा कुनै सम्झौता नगर्ने भन्दै सडक गुणस्तरीय हुनुपर्ने समेत बताउनुभयो ।
यो आयोजना निर्माण सम्पन्न भएपछी बलेटक्सार देखि जोर्तेपोखरा, चौतारा, धोबिघाट, हुँदै रानिवास सम्मको बाटो कालोपत्रे हुने छ ।