कपिल गौतम, गुल्मी। पहिले पहिले गुल्मीका सांगुरा बजारमा दुबैतर्फ गरिएका पार्किङले सडक अस्तव्यस्त देखिन्थे । तर आजकाल यहाँ आलोपालो पार्किङले बजार र सडकमा ट्राफिक जाम हुन छोडेको छ ।
गुल्मीको बलेटक्सार बजारमा रुरुक्षेत्र गाउँपालिकाले नो पार्किङका बोर्डहरु राखिदिएको छ । ती बोर्डहरु ट्राफिक प्रहरीले एकदिन बजारको एक साईडमा त अर्को दिन बजारको अर्को साईडमा राखिदिन्छन । बजारको नजिक पार्किङको समस्या रहेको र दुवै तर्फ पार्किङ गरिँदा ट्राफिक जाम हुने गरेकाले यसो गरिएको मिठु यादवले बताउनुभयो ।
सक्रिय ट्राफिक प्रहरी
अहिले यहाँको ट्राफिक प्रहरिको सक्रियता पनि लोभलाग्दो छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट श्रिङ्गामा कार्यरत मिठु यादव यस क्षेत्रका बजारहरुमा व्यस्त देखिनुहुन्छ । बजारमा राखिएका नो पार्किङ्गका बोर्ड मिलाउने देखी बाटोमा हिडिरहेका यात्रुलाई बाटो काट्ने तरिका सिकाउने सम्म ट्राफिक प्रहरी यादवले गरिरहेको देख्न सकिन्छ ।
पहिले पहिले जिल्ला सदरमुकाम तम्घासमा मात्रै जेब्रा क्रसिङ्ग थियो । अहिले रुरुक्षेत्र गाउँपालिकाले बलेटक्सार बजारमा समेत जेब्रा क्रसिङ्ग बनाएको छ भने ट्राफिक प्रहरीले जेब्रा क्रसिङ्गबाटो बाटो काट्न नागरिकलाई सिकाईरहेका छन । ट्राफिक प्रहरीको सक्रियताले अहिले बजार क्षेत्रमा ट्राफिक जाम कम हुने गरेको स्थानिय व्यवसायी मोति श्रेष्ठले बताउनुभयो ।