झरना कंडेल, गुल्मी। जिल्लाको छत्रकोट गाउँपालिकाले एसईई परिक्षामा ४ जिपिए ल्याउने स्मृती कंडेललाई नगदसहित सम्मान गरेको छ । श्रीङ्गा जनता माध्यमिक बिधालयबाट ४ जिपिए ल्याएर उत्तिर्ण भएकी कंडेललाई हौसला प्रदान गर्न आज एक कार्यक्रमको आयोजना गरी सम्मानपत्र र नगद रु. ३५ हजार सहित सम्मान गरेको हो ।
सो अवसरमा कंडेललाई सर्बोकृष्ट जिपिए ल्याउन प्रेरित गरेको तथा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै बिद्यालयलाई समेत सम्मान गरिएको थियो । गत बिहिबार प्रकाशित नतिजामा ४ जिपिए ल्याएकी कंडेललाई थप हौसला प्रदान गर्नका निम्ती उक्त सम्मान पत्र तथा नगद गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको हातबाट हस्तान्तरण गरिएको प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर पुनले बताउनुभएको छ ।
सो बिधालयबाट गत बर्षको एसईईमा ४५ जना परिक्षार्थी सहभागी भएकोमा ४ जिपिए ल्याउने १ जना, ३.६ देखि ४ जिपिए सम्म ल्याउने ५ जना, ३.२ देखि ३.६ जिपिए सम्म ल्याउने ५ जना, २.८ देखि ३.२ जिपिए सम्म ल्याउने ७ जना, र १.६ देखि २.८ जिपिए सम्म ल्याउने बिद्यार्थी संख्या २८ रहेको छ ।