गुल्मी: बर्षभरीको दुख बाँदरको आहार, किसान भन्छन को संग माग्ने गुहार ?

झरना कंडेल,गुल्मी ।जिल्लाको चन्द्रकोट क्षेत्रमा आजकाल धेरैजसो सुनिने आवाज हो “ल–ल , ओहै–ओहै, लखेट–लखेट , आयो–आयो, खायो, हुर्रै–हुर्रै”, कारण हो बाँदर ।चन्द्रकोट न्युरेनीका किसान हरुले अरु बिषयमा सोच्नै पाउदैनन् जतिबेलै उनीहरुको एउटै चिन्ता छ बाँदर ।

गुल्मीको चन्द्रकोट गाउँपालिका – १ दिव्रुङ्ग न्युरेनीका मिन बहादुर थापा र टेक बहादुर खत्रीको परिवार बिहानै उठेर आफ्नो नित्यकर्म सकेर केही सदस्य घास दाउरा गर्न तर्फ लाग्थे भने कोही घरधन्दा तर्फ लाग्ने गर्थे । तर उनीहरुको दैनिकी एकाएक परिवर्तन भएको छ । यी दुई परिवारका सदस्यहरु एका बिहानै उठेर नित्यकर्मसमेत गर्न नभ्याउदै बाँदर लखेट्न दौडिन्छन् र दिनभर बारीमै बाँदर धपाउनमै व्यस्त रहन्छन् ।सयौको हुलमा आएको बाँदरले मकै बाली खाएर सखाप पारिदिन्छन् । हुलमा आएको बादर धपाउन स्थानिय बासिन्दालाई समस्या भएको छ । हिउँद भरी दुःख गरी लगाएको बाली फल्ने बेलामा सखाप पारेपछि स्थानिय कृषक निकै चिन्तित बनेका छन् ।

यी दुई मात्र होइन  मात्रै होइन अन्य कृषकको बारीमा लगाईएको मकै समेत बाँदरले सखाप परिदिएको स्थानिय बाबुराम खरेलले बताएका छन् । आफ्नो बारीमा बाली लगायर आफ्ना लागि नभई बाँदरकै लागि लगाएझै भएको किसान दुखेसो पोख्छन्। बाली पाक्नु अगाडिनै बाँदरले खाएर नष्ट पार्ने भएकाले किसानलाई बाली भित्र्याउने त परैको कुरा जोगाउनै मुस्किल देखिएको हो। न्युरेनीमा मात्रै करिव १० रोपनी भन्दा बढी जग्गामा लगाइएको मकै बाँदरले नष्ट गरिदिएको छ ।

“बर्षभरी खान पुग्ला भनेर मकै लगाइयो बाँदरले सबै नष्ट गरिदियो, टेक बहादुर खत्रीले भने , एकातिर हेरेर बस्यो अर्कातिरबाट आएर खाइदिन्छ । दिन रात नभनि दुःख गर्यो अन्न स्याहार्ने दिन नआउदै सबै बाँदरको मुखमा पर्छ , हामी हेरेको हेर्यै, को संग दुखेसो पोख्ने ? ”  यहाँका किसानको मुख्य बालीको रुपमा लिइने मकै खेती यतीबेला बाँदरले खाएर सखाप पारिदिएका छन्। मकैको दाना आउने समयमै बाँदरले हैरान पारेको किसान बताउछन्।

 

चन्द्रकोट क्षेत्रका किसानलाई बाँदरबाट मकै बाली तथा अन्य बालीहरु कसरी जोगाउने भन्ने हम्मे हम्मे पर्न थालेको छ।“  दिनभर बाँदरले हैरान पार्छ,स्थानिय मिन बहादुर थापाले भने,‘ हेर्दा हेर्दै बारिको मकै बाली नष्ट पारेको हुन्छ। बाली जोगाउनै गाह्रो हुन्छ । ” गाउँपालिकाका अन्य स्थानमा पनि बादरले वर्षेबाली नष्ट पारेपछि किसानहरु मर्कामा परेका छन्।

 

बाँदरले घरभित्रै पसेर भण्डारण गरेको अन्न समेत खाइदिन थालेपछी त्यहाँका स्थानिय दुःखी बनेका छन् । न्युरेनी मात्रै नभई चन्द्रकोटका अन्य वडा तथा अन्य पालिकाहरुमा पनि बाँदर आतंक दिनप्रतिदिन बढ्दो छ । केहि पालिकाहरुले बाँदर आतंक कम गर्न बिभिन्न उपायसहितको योजना लिएका छन् ।

यस बिषयमा चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतसंग बुझ्न खोज्दा उहाँको फोन उठेन । चन्द्रकोट गाउँपालिका वडा नं १ का वडाध्यक्ष तथा प्रवक्ता घनश्याम खरेलले बाँदर तथा जंगली जनावर नियन्त्रणका लागि गाउँपालिकामा छलफल भैरहेको बताएका छन् । मृग तथा अन्य जंगली जनावरले किसानलाई हैरान पारेको भन्दै हाललाई ति जंगली जनावरलाई खोर बनाएर थुन्ने बिधी अपनाएको उनको भनाई छ।

 

“परिक्षण कालका लागि चन्द्रकोट गाउँपालिका वडा नं –३ हर्राचौरमा ५ वटा खोर बनाएका छौँ उनले भने, उक्त परिक्षण सफल भए यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न योजना छ, नत्र अन्य उपाय अपनाउनुपर्छ ।” बाँदर तथा अन्य जंगली जनावरलाई मार्न तथा नियन्त्रण गर्न नमिल्ने भएका कारण पनि समस्या भएको उनको भनाई छ । संघिय तथा प्रदेश सरकारले नै निती बनाए प्रभावकारी हुन सक्ने तर स्थानिय तहले मात्रै प्रयास गरेर मात्रै नियन्त्रण नहुने खरेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?