भुवन भुसाल, गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले शिक्षालाई प्रविधिमा जोड्न सुरु गरेको छ । रुरुक्षेत्रले गाउँपालिकाका बिधालयहरुमा स्मार्ट बोर्ड बितरण गर्दै शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउने अभियान सुरु गरेको छ ।
स्मार्ट बोर्ड जडान कार्यक्रमको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले अहिलेका बालबालिकालाई प्रविधि संग जोड्न नसके अहिलेको प्रतिस्पर्धात्मक बजारमा बिक्न नसक्ने उल्लेख गर्नुभयो । “हामिले पढ्ने बेला यस्तो थियो, चकले लेखेर पनि पास भयौं भनेर अब हुँदैन, समय अनुसार चल्न सक्नुपर्छ त्यसका निम्ति सहयोग गर्न गाउँपालिका तयार छ ” अध्यक्ष ज्ञवालीले भन्नुभयो ।
नवप्रवर्दन साझेदारी कोष अन्तर्गत सबै सामुदायिक बिधालयमा ईन्ट्र्याक्टिभ स्मार्ट बोर्ड, हरेक बिधालयमा ल्याब, शिक्षकहरुलाई तालिम, तत्काल आईटिको ३ जना शिक्षक, एकीकृत डाटाबेस संचालन गरि विद्यार्थीको हरेक गतिविधि अभिभावकलाई मोवाईलमा तत्काल जानकारी पुग्ने व्यवस्था, अंग्रेजी, गणित, बिज्ञान र सामाजिक बिषयको डिजिटल माध्यम बाट पठनपाठन र बिद्यार्थीले घरमै पनि आफुले चाहेको बिषयको चाहेकै पाठ अध्ययन गर्न पाउने व्यवस्था मिलाईएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।
पालिकाका ७ वटा सामुदायिक माध्यमिक बिधालयलयका कक्षा ६, ७ र ८ मा स्मार्ट बोर्ड जडान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले जानकारी दिनुभयो । वहाँका अनुसार नवप्रवर्दन साझेदारी कोष अन्तर्गत लुम्बिनी प्रदेश सरकारको १ करोड ५० लाख र रुरुक्षेत्र गाउँपालिकाको ६५ लाख साझेदारी गरि २ करोड १५ लाखमा यो कार्यक्रम संचालन गरिएको हो ।
बिधालयमा नयाँ प्रविधिका सामाग्रीहरु जडान पछि गाउँपालिका अध्यक्ष यदु ज्ञवाली लगायत गाउँपालिका परिवारलाई धन्यवाद दिंदै जनबोध माध्यमिक बिधालयका प्रधानाध्यापक बामदेव ज्ञवालीले अब प्रविधिको नयाँ अध्याय सुरु भएको जनाउँदै अब अझै राम्रो नतिजा निकाल्न बिधालय परिवार एक भएर लाग्नुपर्ने बताउनुभयो ।