गुल्मीदरवारको बजेट संशोधन सहित सर्वसम्मत पारित

 

भुवन भुसाल, गुल्मी । गुल्मीको गुल्मीदरवार गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट संशोधन सहित सर्वसम्मत पारित भएको छ । आज बसेको १३ औं अधिवेशनको बैठकमा बजेट संगै विभिन्न विधेयक समेत सर्वसम्मत पारित गरिएको छ । असार १० गतेको बैठकमा सभा सदस्य शालिकराम टण्डनले गाउँसभामा प्रस्तुत गर्नुभएको गुल्मीदरबार गाउँपालिकाको लेखा समिती गठन तथा संचालन कार्यविधि २०८० आजको बैठकले सर्वसम्मत पारित गरेको छ ।

 

त्यस्तै गुणानिधी पौडेलले गाउँसभामा प्रस्तुत गर्नुभएको  विधायन समिति (गठन तथा संचालन) कार्यविधि २०८० पनि आज नै सर्वसम्मत पारित भएको छ ।  गाउँपालिकाको १३ औं अधिवेशनको १० गते बसेको बैठकमा बिष्णु प्रसाद गौतमले सभामा प्रस्तुत गर्नुभएको कर्मचारी कल्याणकोष संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि आज नै सर्वसम्मत पास भएको छ ।

त्यस्तै गत १० गतेको बैठकमा सभा सदस्य राजेन्द्र कंडेलले प्रस्तुत गर्नुभएको  गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयक पनि सर्वसम्मत पारित भएको छ । सभा सदस्य मुकेश थापाले सभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पनि आजको बैठकमा सर्वसम्मत पारित भएको छ ।

 

सभा उपाध्यक्ष तारा थापा ढेंगाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को बजेट गाउँ सभामा छलफल तथा स्विकृतिका लागि गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले सभामा छलफल तथा स्वीकृतिका लागि सभामा पेस गर्नुभएको थियो ।  अन्य विधेयकहरु सर्वसम्मत पारित भएपनी बजेटमा भने केही सभा सदस्यहरुले धारणा राखेका छन ।

सभा सदस्यहरु अमर बहादुर सनानी, गोकर्णराज राना,  ठगेन्द्र फुंजेली, बिष्णु बि.क. लाल बहादुर सराङकोटी, यज्ञमुर्ति अर्यालले आफ्नो धारणा राख्नुभएको थियो । बजेटमा छलफलमा उठेका बिषयलाई समेटेर सभा अध्यक्ष सरोजकुमार थापाले बजेटमा उल्लेखित शिर्षकमा फरक परेका नामलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्दै निर्णयार्थ प्रस्तुत गर्नुभएकी थियो । यससंगै गुल्मीदरबार गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट संशोधन सहित सर्वसम्मत पारित भएको छ ।

आजको बैठकमा उपाध्यक्ष तारा थापा ढेंगाले न्यायिक समितिको आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन प्रतिवेदन जानकारीका लागि प्रस्तुत समेत गर्नुभएको छ । प्रतिवेदन प्रस्तुत गर्दै उपाध्यक्ष थापाले चालू आर्थिक वर्षमा गाउँपालिकाले गरेको न्याय सम्पादनको तथ्यांक प्रस्तुत गर्नुभयो ।  गाउँपालिका उपाध्यक्ष एवम् न्यायीक समिती संयोजक थापाले चालू आर्थिक वर्षमा मौखिक रुपमा आएका सबै उजुरी फरफारक भएको र लिखित रुपमा दर्ता भएका १४ वटा मुद्दा मध्य  ९ वटा मुद्दा  फर्छ्योट भएका र ५ वटा प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।

 

गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को वित्तीय प्रगती सभामा जानकारी गराउँदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवम् सभाका सचिव राजिव पन्थीले गुल्मीदरबार गाउँपालिकाको चालू आर्थिक वर्षको कुल बजेट ५४ करोड ५५ लाख २० हजार रहेकोमा हालसम्मको वास्तविक आम्दानी ४२ करोड ७१ लाख ७९ हजार रहेको जानकारी गराउनु भयो ।  उहाँले हालसम्म ३३ करोड ६६ लाख २० हजार अर्थात ५९.८७ प्रतिशत कुल खर्च भएको सभालाई जानकारी गराउनुभयो । गुल्मीदरवारको चालू आर्थिक वर्षमा चालू खर्च तर्फ ६५.५ प्रतिशत र पुँजीगत तर्फ ४९.०९ प्रतिशत खर्च भएको अधिकृत पन्थीले बताउनुभयो । काम सम्पन्न भएर भुक्तानीको चरणमा रहेकाले खर्च प्रतिशत दैनिक बढिरहने उहाँको भनाई छ ।

गुल्मीदरबार गाउँपालिका कार्यपालिका बैठकका हाल सम्मका निर्णयहरु पनि  आज सभामा निर्णयार्थ पेस भएकोमा सर्वसम्मत पारित भएको छ । शून्य समयमा बोल्दै ज्ञान कुमार श्रेष्ठले २०६५ सालमा स्थापना भएको अमर बचत तथा ऋण सहकारी २०७४ सालमा तहसनहस भएको र ४ सय ७० शेयर सदस्यको रकम डुबेको प्रती ध्यानाकर्षण गराउँदै पालिकाले तत्काल उचित कदम चाल्न आग्रह गर्नुभयो ।

सभा सदस्य शोभलाल रेस्मीले बाँसखर्कमा रहेको खेतमा पाईप अभावले पानी कम रहेकोले तत्काल व्यवस्था गर्न आग्रह गर्नुभयो । शून्य समयमै बोल्दै ठगेन्द्र फुंजेलीले खानेपानी महशुल सहुलियत भएपनी प्रक्रिया झन्झटिलो भएकाले यसको भुक्तानीको बारेमा आवस्यक कागजातको बारे वडालाई जानकारी गराउन आग्रह गर्नुभयो । गत वर्षमा जस्तै यो वर्षमा पनि जन्म दर्ता घर घर भनिएपनी भौगोलिक बिकटतालाई हेरेर कार्यक्रम बनाउन सुझाव दिंदै नीति बनाउदा वडा वडामा सुझाव संकलन गर्न आग्रह गर्नुभयो । ७ गतेदेखि सुरुभएको गाउँसभाको १३ औं अधिवेशन आज समापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?