भुवन भुसाल, गुल्मी
रेसुङ्गा नगरपालिका गुल्मीले रैथाने वाली प्रवर्द्धन कार्यक्रम सुरुवात गरेको छ । नगरपालिकाको वार्ड न १३ को उपल्लो भँगारीमा रहेको रेसुङ्गा होम स्टेलाई रैथाने वाली संरक्षण गर्दै प्रवर्द्धन गर्न नगरपालिकाले सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले हाम्रो रैथाने वालीको संरक्षण गरे आयात प्रतिस्थापन गर्न सकिने बताउनुभयो । “हिजो हामिले हाम्रो वाली चिनेनौं, चामल आयात गर्यौं, संगै सुगर, बिपि जस्ता रोग पनि आयात भए र फेरि हामिले हाम्रो परम्परागत खानालाई संरक्षण गर्ने तर्फ लागेर हाम्रो स्वास्थ्य पनि बचाउनका निम्ति यो कार्यक्रम राखेका हौं” मेयर पन्थीले भन्नुभयो ।
“अब रेसुङ्गामा जहाज आउन लागेको छ, एयरपोर्टबाट गुल्मी आउने पर्यटकलाई गुल्मीको पहिचान खाना, पोशाक, नाचगान, परम्परा, संस्कार देखाउनु छ यसका निम्ति हामिले हाम्रो सबै सम्पती बचाउनुपर्ने छ” पन्थीले भन्नुभयो ।
कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष श्री प्रसाद भलामीले कोदो फापर जुनेलो लगायतका हाम्रा रैथाने वाली बिस्तारै लोप हुँदै गएको सन्दर्भमा नगरपालिकाले यसरी कार्यक्रम नै बनाएर आफ्नो रैथाने वाली संरक्षणमा जुटेकोमा धन्यवाद दिनुभयो । रेसुङ्गा १३ मा अहिलेपनी मगर समुदायका सांस्कृतिक निधीहरु सोरठी, घाटु, सालैजो जस्ता सस्कृती यथावत रहेकाले होम स्टे सफल हुने अपेक्षा गर्नुभयो । “हामी व्यवसायी, कर्मचारी, जनप्रतिनिधि कमसेकम हप्तामा एकदिन फ्रेस हुनकै निम्ति पनि होमस्टेमा आउन अनुरोध गर्दछु, यसले ग्रामीण भेगको अर्थतन्त्र उकास्न मदत पुग्छ” भलामीले भन्नुभयो । रेसुङ्गा नगरपालिका वार्ड न १३ का वडा अध्यक्ष होम बहादुर बस्नेतले आफ्नो वडामा रहेको होम स्टेलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
रेसुङ्गा नगरपालिका कृषि विकास शाखा प्रमुख शेखर घिमिरेले पहाडी भेगमा रैथाने वालीहरु लोप हुँदै गएको सन्दर्भमा ती वालीहरुको संरक्षण गर्दै व्यवसायीक उत्पादन बढाउने उद्देश्यले यो कार्यक्रम मार्फत नगरपालिकाले सहयोग गरेको बताउनुभयो ।
सहयोग कार्यक्रम संचालन गर्दै वडा सदस्य यज्ञमुर्ती श्रीसले सांस्कृतिक, धार्मिक, एतिहासिक, प्राकृतिक रुपमा सम्पन्न यस ठाउँमा पर्यटनलाई वृद्धि गर्न सहयोग गर्न आव्हान समेत गर्नुभयो ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि अर्याल, जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पौडेल लगायत स्थानिय समाजसेवी, पत्रकार, बुद्धिजिवी, होमस्टे क्षेत्रका स्थानिय लगायतको उपस्थिती रहेको थियो ।