अटिजम पाठशाला रिडीमा ५ लाखको स्वर्गीय पशुपति अमात्य अक्षयकोष स्थापना

भुवन भुसाल, गुल्मी

अटिजम पाठशाला रिडीमा ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वार्ड न १ रिडिमा रहेको अटिजम पाठशालामा पशुपति अमात्य अक्षयकोष स्थापना गरिएको हो ।

अक्षयकोष स्थापना गर्दै पशुपति अमात्यका छोरा ओम प्रसाद अमात्यले अटिजम भएपछी उपचार संभव नभएपनी सबैको सहयोगले अटिजम भएका बालबालिकाको जिवनमा परिवर्तन ल्याउन सकिने भएकाले यो कोष स्थापना गरिएको जानकारी गराउनुभयो । रुरुक्षेत्रका वरिष्ठ समाजसेवी स्वर्गीय पशुपती अमात्यको जन्मजयन्तीको अवसर पारेर यो रकम सहयोग गरेको समेत अमात्यले बताउनुभयो ।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष एवम् अक्षयकोष स्थापना कार्यक्रमका प्रमुख अतिथि र संस्थाका आजीवन सदस्य यदु ज्ञवालीले आफू नयाँ पुस्ताको भएको हुनाले पशुपति अमात्य संग लामो समय संगत गर्न नपाएपनी वहाँको सत्कर्मको चर्चाले आफ्नो मन जितेको बताउनुभएको छ । “पैसा धेरैले कमाएका छन, तर कमाएको पैसा सामाजिक कर्ममा खर्च गर्ने स्वर्गीय अमात्य परिवारको प्रशंसा जति गरेपनी कम हुन्छ, उठेको रकमको सदुपयोग होस” अध्यक्ष ज्ञवालीले भन्नुभयो । ज्ञवालीले अब यो पाठशालाको नियमित संचालनका लागि आफुले प्रदेश सरकार संग पहल गरिरहेको र यहाँका बालबालिकाको उपचार थेरापी समेत गर्ने गरि शिक्षिकालाई तालिम समेत दिलाउने गरि योजना बनाईरहेको उल्लेख गर्नुभयो ।

रुरुक्षेत्र गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष नबराज बि.क ले कार्यक्रमलाई संबोधन गर्दै पशुपति अमात्यले गर्नुभएको सामाजिक कामको चर्चा गर्नुभयो । वडा अध्यक्ष बिकले रुरुक्षेत्र आसपासमा स्वर्गीय अमात्यले आफ्नो सामाजिक कर्मले गहिरो छाप छोडेको स्मरण समेत गर्नुभयो । कार्यक्रम संचालन गर्दै पाठशालाका परिकल्पनाकार बिष्णु भण्डारीले अटिजम पाठशालालाई अध्ययन र थेरापीको सेन्टर बनाउने योजना रहेको बताउँदै त्यसका निम्ति सबैले सहयोग गरिदिन आग्रह समेत गर्नुभयो ।

गाउँपालिकाकी पुर्व उपाध्यक्ष एवं कार्यक्रमकि अध्यक्ष लक्ष्मी ज्ञवालीले यो भन्दा पहिला संघ, प्रदेश र स्थानिय पालिकाले सहयोग गरिरहेको उल्लेख गर्दै अटिजम भएका बालबालिकाले पनि पढ्न पाउने अधिकार सुरक्षीत हुनुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष पन्थले अटिजम भएका बालबालिकाको जिवनमा परिवर्तन ल्याउन सकिने बताउँदै अटिजम वा डाउनसिन्ड्रम र भौतिक अपाङ्गता भएका बालबालिकाले पढ्ने पाठशालालाई सामुदायिक बिधालय संग जोड्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा पाठशाला संचालक बिष्णु भण्डारीले चन्द्रकोट गाउँपालिकाका स्थायी बासिन्दा हाल लण्डन निवासी मोति भण्डारीले लण्डनमा रहेका गुल्मेलीहरुलाई आजिवन सदस्य बनाई यसको उन्नतिमा सहयोग गरेको भन्दै धन्यवाद समेत दिनुभयो । लोकेश ज्ञवाली, अमृता कंडेल लगायतले समेत अक्षयकोष स्थापना गर्नुभएको जानकारी समेत कार्यक्रममा दिंदै हाल सम्म एक सय जना आजिवन सदस्य बनिसकेको उल्लेख गर्नुभयो ।

पाठशालामा हाल ११ जना बिद्यार्थी अध्ययनरत रहेका छन भने लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री स्वयंसेवक शिक्षक कार्यक्रम अन्तरगत २ शिक्षिकाको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?